नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्ता समीकरण पेचिलो बनेको छ। तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा समाहित भएका छ सांसदको मौनता र कांग्रेस सांसद प्रकाशबहादुर देउवाको पद रिक्त भएपछि भट्टलाई बहुमत जुटाउन चुनौती थपिएको हो।
नेकपा संसदीय दलका नेता भट्टले साउन २९ गते मुख्यमन्त्रीको शपथ लिएका थिए। उनले बुधबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
तत्कालीन नागरिक उन्मुक्तिबाट नेकपामा समाहित भएका सात प्रदेशसभा सदस्यमध्ये कैलाश चौधरी मात्रै मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा सहभागी भए। खुसीराम चौधरी, घनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी, लक्ष्मण चौधरी, टीका थापा र पूर्वराज्यमन्त्री इन्दिरा गिरी बैठकमा सहभागी भएनन्।
यी सांसदले भट्टलाई विश्वासको मत दिने वा नदिनेबारे पनि सार्वजनिक रूपमा स्पष्ट धारणा दिएका छैनन्। मंगलबार संसदीय दलको बैठकअघि उनीहरू छ जना छुट्टै बसेर सामूहिक तस्बिर खिचेका थिए। त्यसलाई उनीहरू एक ठाउँमा रहेको राजनीतिक सन्देशका रूपमा हेरिएको छ। विश्वासको मतबारे प्रतिक्रिया लिन खोज्दा उनीहरूले भने प्रतिक्रिया दिन चाहेनन्।
नेकपाले आफ्ना सांसदलाई भट्टका पक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी गरेको छ। नेकपा सांसद अक्कलबहादुर रावलले पार्टीका सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने दाबी गरेका छन्।
२६ मतको अंकगणित
सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ सदस्य छन्। पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी निलम्बनमा रहेकाले उनले विश्वासको मतमा मतदान गर्न पाउँदैनन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय सांसद बनेका ताराप्रसाद जोशीको प्रदेशसभा सदस्य पद रिक्त भइसकेको छ।
कांग्रेसका प्रकाशबहादुर देउवाको पदसमेत रिक्त भएपछि मतदानमा सहभागी हुने सदस्य संख्या थप घटेको छ। सोडारीलाई मतदानबाट अलग राखेर देउवा र जोशीको पदसमेत रिक्त भएको अवस्थामा भट्टलाई विश्वासको मतका लागि २६ मत आवश्यक पर्ने देखिन्छ।
एमाले र नेकपाका ११/११ सांसद छन्। सभामुख भीमबहादुर भण्डारी नेकपाबाट निर्वाचित भएकाले उनले मतदान गर्न पाउँदैनन्। पूर्वएकीकृत समाजवादीका तीन सांसद र नागरिक उन्मुक्तिबाट नेकपामा आएका कैलाश चौधरीको मत जोड्दा भट्टको पक्षमा २५ मत पुग्छ।
त्यसैले बहुमतका लागि भट्टलाई थप एक मत आवश्यक देखिन्छ। यही एक मतका लागि राप्रपाकी सांसद खिमा विष्ट वा नागरिक उन्मुक्तिबाट नेकपामा समाहित भएका अन्य सांसदको भूमिका निर्णायक बन्न सक्ने देखिएको छ।
छ सांसदले संसदीय दलको बैठकमा सहभागिता नजनाउनु र विश्वासको मतबारे मौन रहनुले उनीहरूको निर्णयप्रति अझै अन्योल कायमै छ। बुधबार मतदानअघि उनीहरूले लिने निर्णय नै भट्ट सरकारका लागि निर्णायक बन्ने देखिन्छ।
देउवाको पद रिक्त, कांग्रेसमा प्रश्न
भट्टले विश्वासको मत लिनुअघि कांग्रेस प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाको पद रिक्त गरिएपछि यो विषय पनि राजनीतिक बहसको केन्द्रमा आएको छ।
लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा बिना सूचना अनुपस्थित रहेको आधारमा प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी सभामुख भण्डारीले सदर गरेपछि देउवाको पद मंगलबारदेखि रिक्त भएको हो। सभामुखले बुधबार बस्ने प्रदेशसभा बैठकमा यसबारे औपचारिक जानकारी गराउने तयारी गरेका छन्।
संविधानको धारा १८०(घ) मा सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भए प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार देउवाको पद रिक्त गरिएको हो।
तर, विश्वासको मतको पूर्वसन्ध्यामा देउवाको पद रिक्त गरिनुले यसको राजनीतिक प्रभावबारे प्रश्न उठेको छ।
कांग्रेस सांसद सरस्वती खड्काले देउवाको पद रिक्त गर्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएकी छन्।
‘म अहिले काठमाडौंमा छु। यसबारेमा कुनै किसिमको जानकारी छैन। देउवाको पद खाली राख्नेबारेमा हाम्रो दलको बैठकमा कुनै कुरा पनि भएको छैन,’ उनले भनिन्, ‘हामीले छलफल नै गर्न नपाई सभामुखले एक्कासि कसरी देउवाको पद खाली भएको निर्णय गर्नुभयो होला र ? कम्तीमा हामीले दलको बैठकमा एक पटक छलफल गर्न पाएका छैनौँ।’
कांग्रेसले देउवाको पद रिक्त गर्ने निर्णयलाई लिएर प्रदेशसभा र कानुनी प्रक्रियामा प्रश्न उठाउन सक्ने संकेत देखिएको छ।
यसरी एकातिर छ सांसदको मौनता र अर्कोतिर कांग्रेस सांसदको पद रिक्त भएपछि मुख्यमन्त्री भट्टको विश्वासको मतको अंकगणित थप रोचक बनेको छ। बहुमतका लागि एक मतको खोजीमा रहेका भट्टका लागि बुधबारको मतदानअघि हुने राजनीतिक चलखेल र सांसदहरूको निर्णय निर्णायक बन्ने देखिन्छ।





प्रतिकृया दिनुहोस्