August 15, 2026, Saturday
२०८३ श्रावण ३०

मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार सम्हालेसँगै स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छन्। शुक्रबार बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गर्दै नागरिकको उपचारमा पहुँच बढाउने दिशामा प्रारम्भिक कदम अघि सारेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गरिनेछ।

त्यस्तै, लम्कीचुहा अस्पतालमा पाँच तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या थप गर्ने निर्णय भएको छ।

डायलाइसिस सेवा विस्तार भएपछि मिर्गौला रोगीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही कम हुने अपेक्षा गरिएको छ। विशेषगरी नियमित डायलाइसिस गराउनुपर्ने बिरामीलाई नजिकैको अस्पतालबाट सेवा लिन सहज हुने सरकारको विश्वास छ।

सुदूरपश्चिममा भौगोलिक विकटता र स्वास्थ्य सेवाको सीमितताका कारण नागरिकले उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था अझै छ। यस्तो अवस्थामा नयाँ सरकारले पहिलो बैठकमै डायलाइसिस सेवा विस्तारको निर्णय गर्नु स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको संकेतका रूपमा हेरिएको छ।

मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ।

शुक्रबार नै मुख्यमन्त्री भट्टसँगै नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। मन्त्रिपरिषद्मा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी सहभागी छन्।

पदभार ग्रहण गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूले नागरिकमैत्री सेवा प्रवाह, सुशासन, पारदर्शिता र प्रदेश संरचनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।