August 21, 2026, Friday
२०८३ भाद्र ५

सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारको अन्तिम तयारी भइरहेको छ । मुख्यमन्त्री खगराज भट्टले एक-दुई दिनभित्रै सरकार विस्तार हुने बताएका छन् ।

विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिने बताउँदै आएका मुख्यमन्त्री भट्टले मन्त्री छनोटको जिम्मेवारी नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता समेत रहेका आफूलाई दिएका थिए ।

कार्यदलले लामो छलफल गर्दा पनि मन्त्रीका नाममा सहमति जुट्न नसकेपछि आकांक्षीहरूको नाम केन्द्रमा पठाउने निर्णय गरिएको प्रदेश इन्चार्ज जोशीले जानकारी दिए ।

‘हामीले निरन्तर छलफल गरेका थियौं । सबैले आफ्नो चाहना व्यक्त गर्नुभयो । इच्छा व्यक्त गर्नुभएकाहरू सबैको नाम पठाइसकेका छौं,’ जोशीले भने, ‘चाँडै नाम केन्द्रबाट आओस् भनेर पनि आग्रह गरेका छौं ।’

कार्यदलले ३ मन्त्री र २ राज्यमन्त्रीका लागि १२ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । साबिक नेकपा माओवादी केन्द्रबाट ७, नागरिक उन्मुक्ति पार्टीबाट ३ र नेकपा एकीकृत समाजवादीबाट २ जनाको नाम पठाइएको छ ।

माओवादीबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेलको नाम सिफारिस गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम केन्द्रमा पठाइएको छ ।

केन्द्रमा १२ नाममाथि छलफल गरी ३ जनाको नाम प्रदेशमा पठाउने तयारी छ । उनीहरूले भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यसअघि एमालेका तर्फबाट मुख्यमन्त्री भट्टले आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, सामाजिक विकास मन्त्रीमा सन्तोषी थापा शर्मा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारीलाई नियुक्त गरिसकेका छन् । एमालेकै जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भइसकेकी छन् ।

केन्द्रबाट नाम आएलगत्तै थप ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरी सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरिएको छ ।