August 21, 2026, Friday
२०८३ भाद्र ५

रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ । स्थानीय निर्वाचनको तयारी, उम्मेदवार छनोट, संगठनात्मक व्यवस्थापन र पार्टीका महत्वपूर्ण मनोनयनबारे निर्णय लिनुपर्ने बैठककै दिन प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने मुस्ताङतर्फ लागेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बिहान ११ बजेपछि बस्ने बैठकको कार्यसूचीमा दर्जनभन्दा बढी एजेन्डा छन् । तीमध्ये स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदनदेखि ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय समिति तथा पदाधिकारी मनोनयन र उम्मेदवार छनोट समितिको गठनसम्मका विषय छन् ।

पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनासँग प्रत्यक्ष जोडिएका यस्ता महत्वपूर्ण विषयमा छलफल हुने दिन पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाह भने बैठकमा सहभागी नहुने भएका छन् । यसले रास्वपाभित्र नेतृत्वको प्राथमिकता र पार्टी सञ्चालनमा प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएको छ ।

पार्टीको निर्णायक बैठक, प्रधानमन्त्रीको प्राथमिकता कहाँ ?

प्रधानमन्त्री शाह शुक्रबार बिहान सडकमार्ग हुँदै पोखरा भएर मुस्ताङतर्फ गएको बताइएको छ । तर, उनको भ्रमणको उद्देश्य भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको भ्रमणबारे सुरक्षा अधिकारीसमेत स्पष्ट जानकारीमा नरहेको बताइएको छ भने प्रधानमन्त्रीको सचिवालयले पनि भ्रमणको उद्देश्य खुलाउन चाहेको छैन ।

‘भ्रमणको कुरा सही हो तर उद्देश्यबारे हामीलाई पनि जानकारी छैन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उद्देश्य खुलाउने निर्देशन छैन ।’

स्रोतका अनुसार प्रधानमन्त्री शाह धादिङस्थित नेपाली सेनाको भैरव गणमा समेत पुगेका थिए । त्यसपछि उनी मुस्ताङतर्फ अघि बढेका हुन् । तर, प्रधानमन्त्रीको भ्रमणबारे सरकार वा सचिवालयबाट औपचारिक विवरण सार्वजनिक नहुँदा भ्रमणको उद्देश्य थप रहस्यमय बनेको छ ।

प्रधानमन्त्रीको भ्रमण सरकारी कामसँग सम्बन्धित हो वा अन्य कुनै राजनीतिक तथा व्यक्तिगत उद्देश्यका लागि हो भन्ने स्पष्ट हुन सकेको छैन ।

महत्वपूर्ण एजेन्डा, तर वरिष्ठ नेता अनुपस्थित

रास्वपाको आजको बैठक नियमित सांगठनिक बैठकभन्दा अर्थपूर्ण देखिन्छ । स्थानीय निर्वाचनको तयारीसँगै पार्टीको सांगठनिक संरचना र आगामी राजनीतिक रणनीतिमा समेत बैठकले महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने तथा संगठनात्मक व्यवस्थापन र मनोनयनसम्बन्धी विषयमा छलफल हुनेछ ।

त्यस्तै, केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयन गर्ने विषय पनि बैठकको एजेन्डामा छन् । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयमा समेत निर्णय हुने बताइएको छ ।

यस्ता विषयमा पार्टीको शीर्ष नेतृत्वको राजनीतिक उपस्थिति र मार्गदर्शन अपेक्षित हुन्छ । तर, बैठककै दिन प्रधानमन्त्री शाहको अनुपस्थितिले रास्वपाको नेतृत्व शैलीबारे प्रश्न उठाएको छ ।

बैठकमा कम उपस्थिति, नेतृत्वमाथि बढ्दो प्रश्न

प्रधानमन्त्री शाह यसअघि पनि रास्वपाका केन्द्रीय समिति तथा अन्य पार्टी बैठकमा न्यून मात्रामा सहभागी हुँदै आएका छन् । पार्टी संगठन विस्तार र निर्वाचन तयारी तीव्र भइरहेका बेला पार्टीको नियमित तथा निर्णायक बैठकमा प्रधानमन्त्रीको न्यून सहभागिताले नेतृत्वको प्राथमिकतामाथि प्रश्न उठाउने आधार दिएको छ ।

प्रधानमन्त्री मुलुकको कार्यकारी नेतृत्वमा छन् भने शाह रास्वपाका वरिष्ठ नेतासमेत हुन् । त्यसैले सरकार र पार्टी दुवैतर्फको नेतृत्व सम्हालिरहेका व्यक्तिको पार्टीका महत्वपूर्ण बैठकमा अनुपस्थिति सामान्य राजनीतिक व्यस्ततामात्र हो वा पार्टी सञ्चालनप्रतिको फरक प्राथमिकता, यसको जवाफ स्वयं रास्वपाले दिनुपर्ने देखिन्छ ।

पारदर्शिताको दाबी र व्यवहारबीच अन्तर ?

रास्वपाले पारदर्शिता, जवाफदेहिता र परम्परागत राजनीतिक संस्कारको विकल्प प्रस्तुत गर्ने दाबी गर्दै आएको छ । तर, प्रधानमन्त्रीको भ्रमणको उद्देश्यबारे सरकार र सचिवालय मौन रहनु तथा महत्वपूर्ण पार्टी बैठककै दिन वरिष्ठ नेता बैठकमा अनुपस्थित हुनुले उसको राजनीतिक व्यवहारमाथि प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ ।

प्रधानमन्त्रीको भ्रमण कुनै महत्वपूर्ण सरकारी जिम्मेवारीसँग सम्बन्धित हुन सक्छ । त्यसको औचित्य र उद्देश्य सार्वजनिक भएपछि मात्रै त्यसबारे निष्कर्ष निकाल्न सकिन्छ । तर, अहिलेको अवस्थामा भ्रमणबारे पर्याप्त जानकारी नहुनु र पार्टी बैठकबाट प्रधानमन्त्रीको अनुपस्थिति एकैपटक देखिनुले स्वाभाविक रूपमा प्रश्न जन्माएको छ ।