देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइराला शुक्रबार बिहान देउवा निवास पुगेर पूर्वसभापति देउवासँग भेट गरेका हुन्।
भेटमा कांग्रेसभित्र देखिएको विवाद समाधान तथा पार्टी एकताको विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
उनका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक परिस्थिति र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल केन्द्रित थियो।
कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका र नेतृत्वको विषयलाई लिएर विवाद चर्किएका बेला देउवा र कोइरालाबीच भेटवार्ता भएको हो। संस्थापन पक्षले असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका अघि बढाएको छ भने देउवा पक्षले त्यसप्रति असहमति जनाउँदै आएको छ।
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्ष शुक्रबार सर्वोच्च अदालत जाने तयारीमा समेत छ। पार्टीभित्र विवाद बढ्दै गएपछि नेता कोइरालाले विभिन्न नेताहरूसँग संवाद अघि बढाएका छन्।
यही क्रममा देउवासँग भएको भेटलाई कांग्रेसभित्रको विवाद समाधान र पार्टी एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।





प्रतिकृया दिनुहोस्