डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा

डोटी : इतिहासका कतिपय अध्याय पुस्तकका पानामा सुरक्षित हुन्छन्, कतिपय अभिलेखालयका दराजमा। तर केही इतिहास यस्ता पनि हुन्छन्, जो कागजमा होइन, पुस्तौँदेखि मानिसको आस्था, संस्कार र व्यवहारसँगै बाँचिरहेका हुन्छन्। डोटीबाट हरेक वर्ष बडीमालिकातर्फ पठाइने ‘पेटारो’ त्यस्तै एउटा जीवित इतिहास हो।

राज्यको स्वरूप फेरियो। शासन व्यवस्था बदलियो। प्रशासनिक सीमाहरू फेरिए। पुराना गौडा र दरबारहरू इतिहास बने। तर डोटी र बडीमालिकाबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध बोकेर जाने पेटारोको परम्परा भने रोकिएन।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक धाम तथा पर्यटकीय गन्तव्य बडीमालिकामा श्रावण शुक्ल चतुर्दशीका दिन हुने विशेष पूजाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोलीसहित पेटारो पठाइन्छ। बाहिरबाट हेर्दा यो पूजाका सामग्री बोकेर जाने एउटा धार्मिक यात्रा मात्रै देखिन्छ। तर यसको तहभित्र डोटीको पुरानो राज्यव्यवस्था, धार्मिक संस्थासँगको सम्बन्ध, स्थानीय कृषि संस्कृति, प्रशासनिक परम्परा र समुदायको सामूहिक स्मृति जोडिएको छ। यस वर्ष भने यही शताब्दीऔँ पुरानो परम्पराले नयाँ अध्याय थपेको छ।

भुरुडी बोकेर इन्द्रचोकदेखि प्रशासनसम्म

पेटारोको औपचारिक यात्रा सुरु हुनुअघि नै दिपायलको खेतबाट एउटा सांस्कृतिक यात्रा सुरु हुन्छ।

दिपायलस्थित दिल्पेश्वर मठ क्षेत्रको गुठीको खेतमा रोपाइँका क्रममा धानको पातबाट तयार गरिने भुरुडी अर्थात् फुलडी पेटारोको महत्वपूर्ण सामग्री मानिन्छ। खेतमै तयार हुने यो सानो फूलले डोटीको कृषि जीवन र धार्मिक संस्कारबीचको पुरानो सम्बन्धलाई बोकेको छ।

विगतमा दिल्पेश्वर मठका पीठाधीशले पेटारो प्रस्थान गर्नुभन्दा एक दिनअघि भुरुडी जिल्ला प्रशासन कार्यालयमा पुर्‍याउने चलन थियो। तर यसपटक त्यो अभ्यासमा परिवर्तन आयो।

पेटारो प्रस्थान गर्ने दिन नै दिल्पेश्वर मठबाट बाजागाजासहित भुरुडी सिलगढी ल्याइयो। दिपायलवासीले बाजागाजासहित इन्द्रचोकसम्म ल्याएको भुरुडीलाई सिलगढी र आसपासका स्थानीयको सहभागितामा जिल्ला प्रशासन कार्यालय पुर्‍याइयो।

दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीका लागि यो सामान्य प्रक्रियागत परिवर्तन होइन।

‘दिपायलवासीले सिलगढीको इन्द्रचोकसम्म बाजागाजासहित भुरुडी ल्याउनुभयो। इन्द्रचोकमा सिलगढी र आसपासका गाउँबासीसमेत सहभागी हुनुभयो,’ उनले भने, ‘त्यसपछि हामीले उक्त भुरुडी बाजागाजासहित जिल्ला प्रशासन कार्यालय पुर्‍याएका हौँ।’

उनका अनुसार यस अभ्यासले दिपायल र सिलगढीबीचको धार्मिक तथा सामाजिक सम्बन्धलाई थप बलियो बनाउनेछ। धार्मिक परम्परालाई स्थानीय सहभागिता र पर्यटनसँग जोड्नसमेत यसले योगदान पुर्‍याउने उनको विश्वास छ।

जिल्ला प्रशासन कार्यालयमा लामो समय सेवा गरी सेवानिवृत्त भएका तेजबहादुर खड्काले पनि यस वर्षको अभ्यासलाई सकारात्मक सुरुवातका रूपमा लिएका छन्।

‘विगतमा पीठाधीशले अघिल्लो दिन भुरुडी ल्याउने चलन थियो,’ उनले भने, ‘यस पटक अलि फरक गरिएको रहेछ। यो राम्रो सुरुवात हो।’

परम्पराको बाटोमा आएको यो सानो परिवर्तनले एउटा ठूलो प्रश्न पनि उठाउँछ । के परम्परा भनेको जस्ताको तस्तै दोहोरिनु हो, कि समयसँगै नयाँ पुस्ताले त्यसमा आफ्नो सहभागिता थप्दै जानु पनि हो?

डोटीको पेटारोको कथा हेर्दा दोस्रो उत्तर बढी अर्थपूर्ण देखिन्छ।

गौडाको समयदेखि बोकिँदै आएको सम्बन्ध

पेटारोको कथा आजको जिल्ला प्रशासन कार्यालय, स्थानीय तह वा वर्तमान प्रशासनिक संरचनाभन्दा धेरै पुरानो छ।

शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टका अनुसार डोटीबाट बडीमालिकामा पेटारो पठाउने परम्परा साविक डोटी गौडाकै समयदेखि चलिआएको हो।

उनका अनुसार विसं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा तत्कालीन डोटी राज्य नेपालमा गाभिएपछि पुष्कर शाहको पालादेखि डोटी गौडाको तर्फबाट बडीमालिकामा पेटारो पठाउने प्रचलन सुरु भएको हो।

यस हिसाबले पेटारो कुनै एक पुस्ताको अभ्यास होइन। यो डोटीको राजनीतिक र प्रशासनिक इतिहाससँगै अघि बढेको धार्मिक परम्परा हो।

डोटी गौडा थियो। त्यसबेला शासनको स्वरूप अर्कै थियो। पछि राज्यको संरचना फेरियो। प्रशासनिक केन्द्र बदलिए। तर बडीमालिकासँगको सम्बन्धलाई बोकेको पेटारोले आफ्नो यात्रा रोकेन।

‘हरेक वर्ष पेटारोसहित सरकारी टोली बडीमालिका प्रस्थान गर्ने चलन छ,’ भट्ट भन्छन्, ‘यो धार्मिक अनुष्ठान मात्र होइन, यस क्षेत्रको इतिहास, संस्कृति र आस्थाको जीवन्त प्रमाण पनि हो।’

त्यसैले पेटारोलाई केवल पूजासामग्रीको पोकोका रूपमा बुझ्नु इतिहासलाई सानो बनाउनु हो। यो तत्कालीन राज्य र धार्मिक केन्द्रबीचको सम्बन्धको सांस्कृतिक अभिव्यक्ति पनि हो।

धानको पातदेखि चाँदीका सामग्रीसम्म

पेटारो तयार हुने प्रक्रिया आफैँमा एउटा सांस्कृतिक कथा हो।

श्रावण कृष्ण चतुर्दशीका दिन दिपायलस्थित दिल्पेश्वर मठ क्षेत्रमा रहेको बडीमालिका गुठीको खेतमा रोपाइँगरी तयारी पारिएको भुरुडी बडीमालिकातर्फ जाने पेटारोको महत्वपूर्ण धार्मिक सामग्री बन्छ।

अर्थात् पेटारोको यात्रा कुनै दरबार वा सरकारी कार्यालयबाट होइन। माटो, खेत र धानको पातबाट सुरु हुन्छ।

त्यसपछि भुरुडी जिल्ला प्रशासन कार्यालयमा पुग्छ। जिल्ला प्रशासन कार्यालय र शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले पेटारोका अन्य सामग्री तयार गर्छन्।

पेटारोमा चाँदीको काइँयो, चाँदीको छत्र, सुनको जलप लगाइएका गहनासहितका श्रृंगार सामग्री, सुनको जनै, चाँदीको बाँसुरीलगायत सामग्री राखिन्छन्।

एउटै पेटारोभित्र खेतको माटोको गन्धदेखि धार्मिक प्रतीक र परम्परागत धातुकलासम्म अटाउँछन्।

यही कारण पेटारो एउटा वस्तु होइन, डोटीको जीवनशैलीको सानो संग्रहालयजस्तै देखिन्छ।