बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवाको स्वागतको तयारी

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ।
झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो।
इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण गर्नेछन्। उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन्।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा गत १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्। इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ।
तीन दिनसम्म चल्ने राष्ट्रिय भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान इतर समूहले गरेको छ।





प्रतिकृया दिनुहोस्