August 16, 2026, Sunday
२०८३ श्रावण ३१

बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा शिक्षिका पशुपती बम जोशी मृत भेटिएको घटनामा माइती पक्षले निष्पक्ष तथा गम्भीर छानबिनको माग गरेको छ। माइती पक्षले मृतकका श्रीमान्, सासु र ससुराको भूमिकामाथि समेत आशंका जनाउँदै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दिएका छन्।

धनगढी उपमहानगरपालिका–५ माइतीघर भएकी बम साउन २७ गते धनगढीबाट बेलौरीस्थित घर पुगेकी थिइन्। भोलिपल्ट साउन २८ गते दिउँसो करिब २ बजे घरदेखि करिब तीन किलोमिटर टाढा उखुबारीमा उनी मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले घटनास्थलबाट शव उद्धार गरी पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको जनाएको छ।

बम डोटीको बोगटान फुड्सिल गाउँपालिकास्थित एक विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत थिइन्। उनका श्रीमान् हेमराज जोशी बागलुङस्थित एक विद्यालयमा शिक्षक रहेको परिवारले जनाएको छ। उनीहरूका दुई छोरा छन्।

माइती पक्षका अनुसार बमले लामो समयदेखि श्रीमान् तथा घरपरिवारबाट मानसिक र शारीरिक यातना भोग्दै आएको बताइएको छ। मृतककी आफन्त देवी सिंह बमले विवाहपछि पनि जातीय विषयलाई लिएर परिवारमा असमझदारी रहेको दाबी गरिन्।

“श्रीमान्ले अर्को विवाह गर्छु भनेर धम्क्याउने गरेको र आफूले विवाह गर्न लागेको युवतीसँग समेत फोनमा कुरा गराउन खोज्ने गरेको हामीलाई थाहा थियो,” उनले भनिन्।

माइती पक्षका अनुसार बम र जोशीबीच करिब १५ वर्षअघि प्रेम सम्बन्धपछि विवाह भएको थियो। विवाहका बेला पनि परिवारले भविष्यमा समस्या आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको उनीहरूको भनाइ छ।

देवीका अनुसार विवाहअघि हेमराजले पशुपतीसँग विवाह गर्न नपाए आफूले आत्महत्या गर्ने बताएको परिवारलाई जानकारी थियो। त्यसपछि दुवै पक्षको सहमतिमा विवाह भएको उनले बताइन्।

मृतक बम साउन १६ गते श्रीमान्सँगै एक महिनाका लागि बागलुङ गएको भए पनि तीन–चार दिनमै त्यहाँबाट फर्किएको माइती पक्षको भनाइ छ। त्यसको केही दिनपछि उनी मृत अवस्थामा भेटिएकी थिइन्।

माइती पक्षले घटनालाई आत्महत्या मात्र भनेर निष्कर्षमा पुग्न नहुने भन्दै शवको अवस्था र घटनास्थलका केही परिस्थितिमाथि समेत प्रश्न उठाएको छ।

मृतकका भाइ मखन बमले शवको अवस्था आफूहरूलाई शंकास्पद लागेको बताए। उनका अनुसार शव बसेको अवस्थामा झुण्डिएको जस्तो देखिएको थियो भने पिठ्युँमा माटो लागेको थियो।

“शवको अवस्था र घटनास्थल हेर्दा हामीलाई शंका लागेको छ। अन्य केही विषय पनि छन्, अहिले सबै कुरा सार्वजनिक गर्दैनौँ। प्रहरीको अनुसन्धानबाट सत्यतथ्य बाहिर आउला,” उनले भने।

यद्यपि घटनाबारे प्रहरी अनुसन्धानबाट कुनै निष्कर्ष सार्वजनिक भइसकेको छैन। माइती पक्षले लगाएका आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

उता मृतकका ससुरा महारुद्र जैशीले भने बुहारीले आत्महत्या गर्नुपर्ने वा कसैसँग विवाद भएको आफूहरूलाई जानकारी नभएको बताएका छन्। उनका अनुसार साउन २७ गते बिहान धनगढीबाट घर आएकी बुहारीसँग कुनै विवाद भएको थिएन।

“बुहारी घर आएपछि विवाद वा झगडा केही भएन। उहाँलाई सन्चो नभएको जस्तो लागेको थियो,” उनले भने, “२८ गते बिहान सँगै नास्ता खाएका थियौँ। सासुले पनि सन्चो छैन भने घरमै बस्नू भनेर घाँस काट्न गएकी थिइन्। पछि बुहारी पनि घाँस काट्न जान्छु भनेर हिँडिन्। नजानु भने पनि मानिनन्। पछि यस्तो अवस्थामा भेटिनुभयो।”

उनले घटनाबारे आफूहरू पनि स्तब्ध भएको बताए। घटनामा माइती पक्षले उठाएका प्रश्न, मृतकको पारिवारिक सम्बन्ध तथा घटनास्थलको अवस्थासहितका विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले पोस्टमार्टम रिपोर्ट, घटनास्थलको अवस्था, मृतकको पारिवारिक तथा व्यक्तिगत सम्बन्ध र प्राप्त अन्य प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ।

मृत्युको कारण र घटना आत्महत्या हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषय भने प्रहरी अनुसन्धान र पोस्टमार्टमलगायतका प्रमाणबाट स्पष्ट हुने देखिएको छ।