फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम : प्रत्येक वर्ष बाइस हजारलाई क्यान्सर !

काठमाडौँ : मानिसको श्वाससँग जोडिएको सबैभन्दा महत्वपूर्ण अङ्ग फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम निम्त्याइरहेको छ । फोक्सोमा हुने क्यान्सरले नेपालमा मात्र नभएर विश्वभर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ ।
विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धानको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष करिब २५ लाखभन्दा बढी व्यक्तिमा फोक्सोको क्यान्सर पुष्टि हुने गरेको छ । तीमध्ये १८ लाखभन्दा बढीको फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । क्यान्सरबाट हुने कुल मृत्युमा फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको छ ।
वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनीका अनुसार फोक्सोको क्यान्सरको करिब ८५ प्रतिशत कारण धूमपानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित रहेको छ ।
नेपालमा कुल क्यान्सर रोगीमध्ये १५ देखि १८ प्रतिशत बिरामीलाई फोक्सोको क्यान्सर हुने गर्छ । पछिल्लो ग्लोबोकनको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष कुल २२ हजारदेखि २४ हजारसम्म नयाँ क्यान्सरका ‘केस’ देखिने गरेको छ । तीमध्ये करिब दुई हजार ४०० भन्दा बढी फोक्सोको क्यान्सरका बिरामी हुन्छन् ।
नेपालमा पुरुषमा लाग्ने क्यान्सरमध्ये फोक्सोको क्यान्सर पहिलो नम्बरमा आउँछ भने महिलामा यो तेस्रो स्थानमा पर्छ । नेपालमा करिब ५० देखि ५५ वर्ष उमेर समूहका व्यक्ति यसबाट बढी प्रभावित भएको पाइएको छ । क्यान्सर उपचार गर्ने अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये फोक्सोको क्यान्सरका बिरामीको सङ्ख्या धेरै रहेको डा. पङ्गेनीले जानकारी दिए ।

जनसङ्ख्यामा आधारित क्यान्सर अभिलेखका अनुसार पुरुषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिने क्यान्सरमध्ये एक हो । महिलामा पनि यसको सङ्ख्या बर्सेनि बढिरहेको छ । डा. पङ्गेनीले नेपालमा धूमपान गर्नेको सङ्ख्या अझै उच्च हुनु, सवारीसाधन र उद्योगबाट निस्कने धुवाँ, इँटा उद्योग, घरभित्र दाउरा तथा अन्य ठोस इन्धन प्रयोग, प्रत्यक्ष धूमपान र वायु प्रदूषणका कारण जोखिम बढिरहेको बताए ।
डा. पङ्गेनीका अनुसार फोक्सोका कोष अनियन्त्रित रूपमा बढ्न थालेपछि फोक्सोको क्यान्सर हुने गर्छ । घरभित्रको धुवाँ, प्रत्यक्ष धूमपान, वायु प्रदूषण, औद्योगिक धुलो धुवाँ, केही हानिकारक ग्यास, वंशाणुगत कारण तथा दीर्घकालीन फोक्सोसम्बन्धी रोगले पनि जोखिम बढाउँछन् ।
क्यान्सर रोग विशेषज्ञ तथा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अधिकांश बिरामी ढिलो चरणमा अस्पताल पुग्ने भएकाले उपचार जटिल हुने गरेको जानकारी दिए । उनका अनुसार प्रारम्भिक चरणमा फोक्सोको क्यान्सरमा खासै लक्षण नदेखिन सक्छ । यही कारण धेरैले सामान्य खोकी वा दमको समस्या ठानेर बेवास्ता गर्छन् । रोग फैलिसकेपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिका कारण उपचारको सफलता पनि घट्ने गरेको छ ।
फोक्सोको क्यान्सरका प्रमुख लक्षणमा तीन साताभन्दा बढी लगातार खोकी लागिरहनु, खोकीसँग रगत आउनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, स्वर बस्नु, पटक पटक फोक्सोमा सङ्क्रमण हुनु, अत्यधिक थकान महसुस हुनु, भोक कम लाग्नु, तौल घट्दै जानु, काँध वा ढाड दुखिरहनु तथा लामो समयसम्म सामान्य औषधी गर्दा पनि समस्या निको नहुनु पर्छन् ।
डा. चालिसेले यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्ने बताए । उनका अनुसार क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय धूमपान नगर्नु र गरिरहेको भए तत्काल त्याग्नु हो । परोक्ष धूमपानबाट पनि जोगिन उत्तिकै आवश्यक छ ।
यसै गरी वरिष्ठ छाती रोग विशेषज्ञ दिव्यराज मिश्रले नियमित शारीरिक व्यायाम गर्ने, हरियो सागसब्जी र फलफूल बढी खाने, वायु प्रदूषणबाट सकेसम्म बच्ने, घरभित्र सफा इन्धन प्रयोग गर्ने तथा जोखिम समूहका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउने बानी बसाल्नुपर्ने बताउए । उनले नेपालमा नसर्ने रोगको भार तीव्र रूपमा बढ्दै गएको बताए । उनले फोक्सोको क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग नियन्त्रण गर्न धूमपान नियन्त्रण, वायु प्रदूषण न्यूनीकरण, प्रारम्भिक परीक्षण तथा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारले क्यान्सर रोग नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए । ललितपुर मानभवनमा रहेको नेसनल चेस्ट सेन्टरमा आउनुभएकी ६२ वर्षीय एक बिरामीले सुरुमा सामान्य खोकी र थकान बेवास्ता गरेको तर महिनौँसम्म खोकी लागेपछि जचाउँदा क्यान्सर देखा परेको उनले बताए । उनका अनुसार औषधी खाँदा केही दिन निको भए जस्तो हुन्थ्यो पछि फेरि दोहोरिन्थ्यो । खकारमा रगतसमेत आउन थालेपछि अस्पताल पुग्दा अवस्था जटिल भइसकेको उनले सुनाए ।
उहाँ अहिले नियमित उपचारमा हुनुहुन्छ । उनले अरूलाई पनि सामान्य लक्षण देखिनासाथ चिकित्सककहाँ जान सल्लाह दिए । नेपाल एनसीडी एलायन्सका महासचिव तथा वरिष्ठ जनस्वाथ्यविद् किशोरकुमार प्रधानाङले धूमपान नियन्त्रणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, सुर्तीजन्य पदार्थ प्रयोग घटाउने नीति, स्वच्छ हावाको सुनिश्चितता, विद्यालय तहदेखि जनचेतना कार्यक्रम सञ्चालन तथा जोखिममा रहेका व्यक्तिको समयमै परीक्षण गर्न सके फोक्सोको क्यान्सरबाट हुने मृत्यु घटाउन सकिने बताए ।
गोरखापत्रबाट





प्रतिकृया दिनुहोस्