हेलिकप्टर चढेर साइपाल पुग्यो जिप

बझाङ : जिल्लाको विकट र क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो साइपाल गाउँपालिकामा अब जिप चढेर यात्रा गर्न पाइने भएको छ । एक जना व्यवसायीले हेलिकप्टरमार्फत जिप ढुवानी गरेर हालसम्म यातायात सुविधा नपुगेको साइपालमा जिप सेवा सुरु गरेका हुन् ।
बझाङ विमानस्थलबाट जिपलाई खोलेर टुक्राटुक्रामा हेलिकप्टरबाट ढुवानी गरिएको थियो । धलौनमा ल्याइएका भागहरू पुनः जोडिएपछि जिपले सेवा दिन सुरू गरेको हो । तलकोट र साइपाल गाउँपालिकाको सीमामा पर्ने जाडलेकदेखि साइपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने धलौन गाउँसम्म करिब १० किलोमिटर सडकमा जिप सञ्चालनमा ल्याइएको तामाङ निर्माण सेवाले जनाएको छ । निर्माणाधीन उक्त सडक भने अझै सदरमुकाम जोड्ने सडक सञ्जालसँग जोडिएको छैन ।
तलकोट गाउँपालिकाको कुवासम्म जिल्लाको सडक सञ्जाल जोडिए पनि त्यहाँबाट जाडलेकसम्म करिब सात किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । यद्यपि साइपाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र डोजर चल्ने गरी करिब १० किलोमिटर सडक निर्माण गरिसकेको छ । उक्त सडक निर्माणको ठेक्का पाएको तामाङ निर्माण सेवाले खच्चरमार्फत डोजरमा प्रयोग हुने इन्धन ढुवानी गर्न महँगो पर्ने भएकाले निर्माण प्रयोजनका लागि जिप हेलिकप्टरमार्फत साइपाल ल्याएको जनाएको छ ।
‘खासगरी डोजरमा हाल्ने तेल र अन्य निर्माण सामग्री ढुवानी गर्न सजिलो होस् भनेर हामीले जिप लगेका हौं,’ तामाङ निर्माण सेवाका सञ्चालक जगत तामाङले भने, ‘तर त्यहाँका स्थानीय र साइपाल जाने पर्यटकलाई पनि हामीले सेवा दिनेछौं ।’ जिप सञ्चालनमा आएपछि जाडलेकदेखि धलौनसम्म पैदल हिँड्दा करिब छ घण्टा लाग्ने दूरी अब एक घण्टाभन्दा कम समयमा पार गर्न सकिने उनले बताए ।
जिप चलेपछि यहाँका स्थानीयलाई आवतजावत गर्न, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न मात्रै नभई आपत्–विपदमा परेकालाई छिटो उपचारका लागि पठाउन पनि सहज हुने स्थानीयको भनाइ छ । ‘झन्डै एक दिनको पैदल बाटोमा अब गाडी चढ्न पाइने भएको छ,’ धलौनका स्थानीय वसन्त बोहराले भने, ‘जिप आएपछि सामान ढुवानी गर्न मात्रै होइन, बिरामीलाई पनि छिटो अस्पतालसम्म पुर्याउन सजिलो हुनेछ ।’
जिप सञ्चालनमा आएको धलौन गाउँ साइपालको प्रवेशद्वारमै पर्छ । गाउँपालिकाको उत्तरी भेगमा रहेका काडा, धुली, न्युना र बलौडी गाउँमा भने अझै सडक पुगेको छैन । त्यहाँका स्थानीय गम्भीर बिरामी पर्दा गाउँपालिकाले हेलिकप्टरमार्फत उद्धार गर्दै आएको छ । कतिपय बिरामीको भने समयमै उद्धार हुन नसक्दा बाटोमै मृत्यु हुने गरेको छ ।
कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्