April 18, 2026, Saturday
२०८३ बैशाख ५

उत्तराखण्ड बाढी : जाजरकोट, जुम्ला र बर्दियाका १८ मजदुर सम्पर्कविहीन

कञ्चनपुर : भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार ‘क्लाउड बर्स्ट’ (आरिघोप्टे वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो । नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् । 

जाजरकोटको कुशे गाउँपालिका—२ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको स्थानीय तहले उद्धारको पहल गरेको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ । ‘उनीहरूको नाम र ठेगाना पत्ता लगाउँदै छौं,’ उनले भने, ‘त्यहाँ बाढीपहिरोले ठूलो क्षति पुर्‍याएकाले मजदुरीका लागि गएका अन्य स्थानीयसँग सम्पर्कको प्रयास सफल हुन सकेको छैन, त्यसैले संघीय सरकारलाई गुहारेका हौं ।’

कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको मानबहादुर सिंहका छोरा नवीनले जानकारी गराएका छन् । २१ वर्षका नवीन बुवासँगै काम गर्न गएका थिए । उनीसँगै सोही वडाका अनुमानित २० जना काम गर्दै आएको नवीनले जानकारी दिएको वडाध्यक्ष मानबहादुर सिंहले बताए ।

यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताए । ‘नवीनले वडाध्यक्षलाई मेसेन्जरमा भ्वाइस मेसेज छाडेको रहेछ । त्यसैका आधारमा प्रशासनलाई जानकारी गराएको छु, नवीनसँग सम्पर्क हुन सकिरहेको छैन,’ उनले भने ।

स्थानीयहरू मजदुरी र स्याउ बोक्न बर्सेनि भारत जाने गरेको बस्नेतले बताए । उनका अनुसार अहिले सम्पर्कविहीन नेपाली मजदुरी गर्न ३/४ महिनाअघि त्यहाँ पुगेका थिए । ‘धेरै जना परिवारको सम्पर्कमा नरहेको पाइयो, सोधखोज गरिरहेका छौं,’ उनले भने ।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तरकाशीको घटनामा नेपाली हराएको विषयमा भारतीय प्रहरीबाट औपचारिक जानकारी प्राप्त नभएको बताए । स्थानीय तहबाट आएको सूचनाका आधारमा बुझ्ने प्रयास गरिराखेको पनि उनले जानकारी दिए । ‘धराली घटनामा २ सय ७४ जनाको उद्धार भएको छ । तर उनीहरू सबैको पहिचान भइसकेको छैन,’ उनले भने, ‘४ जनाको शव भेटिए पनि ती सबै भारतीय नागरिक रहेको जानकारीमा आएको छ ।’

यस्तै, उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् । सडक निर्माणको काममा गएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए ।

बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् । पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र

खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएको नरेन्द्रका काका उद्धव खड्काले बताए । गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।

बुधबार बिहान १० बजेतिर टेन्टमा खाजा खाएर काम गर्न जाने तयारी भइरहेका बेला पहिरो खसेको जानकारी पाएको उद्धवले बताए । गाउँबाट मजदुरलाई भारत पुर्‍याउन समन्वय गरेका चित्रबहादुर पौडेल पनि त्यहीँ छन् । पौडेलका अनुसार उक्त क्षेत्रमा तीन/चार दिनदेखि लगातार वर्षा भइरहेको थियो । नेपाली कामदारहरू सिन्धु खोला किनारमा १०/१२ वटा टेन्ट राखेर बसिरहेका थिए । वर्षासँगै बुधबार बिहान पहिरो खसेपछि उनीहरूको भागाभाग भएको थियो । ‘पहिरोले टेन्टसहित मान्छे पनि बगाएर लग्यो, हामीले हेर्दा हेर्दै तल खोलामा पुर्‍यायो, त्यसपछि केही पत्ता लागेन,’ पौडेलले भने ।

खड्का परिवार एउटा टेन्टमा थियो भने अमृता र उनका श्रीमान् अलग्गै टेन्टमा बस्थे । पौडी गढवालमा बर्दियाका ७३ जना कार्यरत थिए । पटक पटक गरी तीन समूह बनाएर बर्दियाबाट ती मजदुर ल्याएको पौडेलले जानकारी दिए । ‘बेपत्ता भएका पाँच जनाबाहेक सबै सम्पर्कमा छन्,’ उनले भने । एक्ला छोरा नरेन्द्रसहित बुहारी र नाति बेपत्ता भएको खबरले घरपरिवार चिन्तामा छन् । नरेन्द्रका बुवा चूडामणि छोरा बेपत्ता भएको जानकारी पाएपछि पौडी गढवालतर्फ गएका छन् । गत ६ असारमा सडक निर्माणमा दैनिक ज्यालादारी गर्न नरेन्द्र परिवारसहित गढवालको जमपुरीमा गएका थिए । ठेकेदारले दैनिक ज्यालाबापत ५ सय भारु दिने गरेको थियो । उनी यसअघि पनि दुई पटक काम गर्न पौडी गढवाल गएका थिए ।

अमृताकी बुहारी विमला राजीले सासू बेपत्ता भएको जानकारी पाएको बताइन् । ‘सासूससुरा नयाँ वर्ष मनाएर गएको वैशाखमा पौडी गढवाल जानुभएको हो,’ उनले भनिन्, ‘श्रीमान् भने भारतको लद्दाखमा काम गर्न जानुभएको छ ।’ उक्त घटनामा घाइते मधुवन–८ की लक्ष्मी परियार र मधुवन–७ का भूपेन्द्र खत्रीको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको पौडेलले बताए । नयाँदिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले पौडी गढवालको घटनामा ५ जना नेपाली बेपत्ता भएको र केही घाइते रहेको जानकारी आएको बताए । घाइतेमध्ये बर्दियाकै विमल विक, गोपाल गुरुङ, रामबहादुर परियार, लक्ष्मी परियार तथा केही नाम नखुलेका नेपाली रहेको जानकारी भारतीय अधिकारीबाट पाएको उनले बताए ।

सम्पर्कविहीन हुनेहरू

  • जाजरकोट कुशे गाउँपालिका निवासी

 कर्णबहादुर सिंह

– रामबहादुर सिंह

– मानबहादुर सिंह

– निम सिंह

– रविन सिंह

– नाम र ठेगाना नखुलेका थप ७ जना

  • जुम्ला तिला गाउँपालिका निवासी

– जनकबहादुर शाही

  • बर्दियाको मधुवन नगरपालिका निवासी

– नरेन्द्र खड्का

– सरस्वती खड्का

– रोमन खड्का

– अमृता परियार

– सुवास विक

कान्तिपुरबाट