September 2, 2026, Wednesday
२०८३ भाद्र १७

त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित त्रिनगर माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीले भोटेकोशी बाढीपीडितका लागि ६६ हजार ६०५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयका शिक्षक तथा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबाट रकम संकलन गरिएको हो।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विपद्का समयमा पीडित नागरिकलाई सहयोग गर्नुपर्ने मानवीय दायित्वलाई ध्यानमा राख्दै शिक्षक तथा विद्यार्थीको सहभागितामा सहयोग रकम संकलन गरिएको त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल सिंह खड्काले बताए ।

विद्यालयका प्रधानाध्यापकका अनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएकाले पीडित परिवारको राहत तथा उद्धारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको हो। शिक्षक तथा विद्यार्थीले स्वेच्छिक रूपमा सहयोग रकम उपलब्ध गराएका थिए।

विद्यालयले विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको सहयोगमा हातेमालो गर्नुपर्ने सन्देशसमेत दिएको छ। सहयोग अभियानले विद्यार्थीमा मानवीय भावना, सामाजिक उत्तरदायित्व र विपद्का समयमा सहयोग गर्ने संस्कारको विकास गर्नसमेत मद्दत पुग्ने विद्यालयको विश्वास छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा सर्वसाधारणले सहयोग गरिरहेका बेला त्रिनगर माध्यमिक विद्यालयका शिक्षक–विद्यार्थीले पनि आफ्नो तर्फबाट सहयोग गरेका हुन्।