शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने

डोटी । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शिखर नगरपालिका डोटीले दुःख व्यक्त गर्दै प्रभावितका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
शिखर नगरपालिकाको कार्यपालिकाको कार्यालय डोटीले बिहीबार जारी गरेको अपिलमार्फत बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।
नगरपालिकाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि नेपाल सरकार र सम्बन्धित निकायले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय सरकारका तर्फबाट २ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा हुने गरी आवश्यक प्रक्रिया अघि बढाइएको नगरप्रमुख दीर्घबहादुर बलायरले जानकारी दिए।
नगरप्रमुख बलायरद्वारा हस्ताक्षरित अपिलमा विपद्को कठिन समयमा गरिएको सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
नगरपालिकाले विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै पीडित परिवार तथा समुदायसँग साथमा रहने प्रतिबद्धता जनाएको छ।





प्रतिकृया दिनुहोस्