August 29, 2026, Saturday
२०८३ भाद्र १३

भोटेकोशी बाढीको पछिल्लो अपडेट : ३५९ शव फेला, ४१ पुलमा क्षति, रसुवा सडक सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी चितवनमा १३२ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी (पूर्व)मा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी (पश्चिम)मा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा एक्कासि आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको हो। बाढीका कारण रसुवा जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ। जिल्लाका १३ वटा पुल बाढीले बगाएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी कुल ४१ वटा पुलमा क्षति पुगेको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

रसुवामा मात्रै करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ। सडक अवरुद्ध भएपछि पूरै जिल्ला सडक सञ्जालबाट विच्छेद भएको हो।

मन्त्रालयका अनुसार अहिलेको प्राथमिकता पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने रहेको छ। पृथ्वी राजमार्गको करिब १३ किलोमिटर सडक लेदोले पुरिएको छ।

रसुवालाई सडक सञ्जालमा जोड्न बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयको भनाइ छ।

मितेरी पुलदेखि मुग्लिनसम्म क्षति

सडक विभागका अनुसार नेपाल–चीन सीमा नाकास्थित मितेरी पुलदेखि मुग्लिनसम्मका विभिन्न पुल बाढीबाट प्रभावित भएका छन्। मितेरी पुल पूर्णरूपमा बगेको छ भने मुग्लिनको पुरानो सस्पेन्सन पुल जोगिएको छ।

रसुवामा टिमुरेस्थित दुईवटा बेलिब्रिज, भोटेकोशीको पक्की पुल, चिलिमेको पक्की पुल, स्याफ्रुबेँसीस्थित हाइड्रोपावर बेलिब्रिज र पक्की पुल बाढीले बगाएको छ। हाकु प्रथम र हाकु द्वितीय बेलिब्रिज, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको बेलिब्रिज, मैलुङ बेलिब्रिज तथा त्रिशूली–३ ए ड्याम आसपासका पक्की पुलसमेत बगेका छन्।

खाल्टेस्थित रसुवा–नुवाकोट सीमाको भोटेकोशी नदीमाथिको पुल तथा बेत्रावतीका पुराना र नयाँ दुवै पक्की पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ।

नुवाकोटतर्फ त्रिशूली–तुप्चेस्थित पक्की पुल पूर्णरूपमा बगेको छ। त्रिशूली बजारका पुराना र नयाँ दुवै पक्की पुल, सिमचौरस्थित त्रिशूली नदीको पुल, देवीघाटका झोलुङ्गे तथा पक्की पुल र तादी खोलाका पुराना तथा नयाँ पक्की पुलमा समेत क्षति पुगेको छ।

त्यस्तै, श्रीखाली, बुद्धसिंहघाट, रातमाटे र केउरेनीस्थित त्रिशूली नदीमाथिका पुल पनि बाढीबाट प्रभावित भएका छन्।

धादिङमा गल्छी नजिक त्रिशूली नदीमाथिको पुल जोगिएको छ। तर गल्छीभन्दा तल बैरेनी–सल्यानटार सडकमा रहेको पुल बाढीले बगाएको छ। ह्यामलेट रिसोर्ट नजिकको पक्की पुलमा क्षति पुगेको छ भने जरेबगैँचा र घाटबेँसीस्थित पुल बाढीले बगाएको छ।

धादिङकै कोल्पु खोलाका नयाँ र पुराना दुवै पुलमा क्षति पुगेको छ भने मलेखुस्थित फुर्केखोला पुल पूर्णरूपमा बगेको सडक विभागले जनाएको छ। बेनीघाट र फिस्लिङस्थित त्रिशूली नदीमाथिका पुल भने जोगिएका छन्।

चितवनतर्फ चुम्लिङटारस्थित बेलिब्रिज तथा मुग्लिनस्थित नयाँ आर्क ब्रिज र पुरानो सस्पेन्सन ब्रिज पनि जोगिएको सडक विभागको तथ्यांकमा उल्लेख छ।

सरकारसँग सातवटा मात्रै बेलिब्रिज

पूर्वाधार विकास मन्त्रालयका अनुसार नेपाल सरकारसँग हाल सातवटा मात्रै बेलिब्रिज मौज्दात छन्। ती बेलिब्रिजको कुल लम्बाइ करिब ५० मिटर मात्रै रहेको मन्त्रालयले जनाएको छ।

बाढीबाट ठूलो संख्यामा पुल क्षतिग्रस्त भएपछि आवश्यकताअनुसार बेलिब्रिज जडानको काम अघि बढाइएको छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ।

सडक खुलाउने कामलाई तीव्रता दिन सरकारले १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी २० वटा उपकरण परिचालन गरेको छ। क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।