August 20, 2026, Thursday
२०८३ भाद्र ४

विश्व लामखुट्टे दिवस : ‘सानो टोकाइ, ठूलो चुनौती’

काठमाडौं : विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम न्यूनीकरण तथा यसबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

लामखुट्टेको टोकाइबाट औँलो, डेंगी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिस लगायतका रोग लाग्ने गर्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र फैलावट बढ्दै जाँदा उच्च हिमाली क्षेत्रसमेत यस्ता रोगको जोखिममा पर्न थालेका छन्।

कीटजन्य रोग नियन्त्रणका लागि विभागले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कीट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लासम्म फैलिसकेको छ।

स्वास्थ्य विज्ञहरूले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घर वरपर पानी जम्न नदिने, झुलको प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन्।