October 13, 2026, Tuesday
२०८३ आश्विन २८

बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर पैसा निकालेको आरोपमा २९ पक्राउ

काठमाडौं । भोटेकोशी–त्रिशूलीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर नगद रकम निकालेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोपमा २९ जनालाई पक्राउ गरिएको जनाएको हो।

प्रहरीका अनुसार गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको सेफ उनीहरूले फेला पारेका थिए। त्यसपछि सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद रकम आफूखुसी निकालेको आरोप छ।

पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए।

प्रहरीले स्थानीयसहितले सेफ तोडफोड गरी नगद रकम निकालेको सूचना शुक्रबार पाएको थियो। सेफभित्र कति रकम थियो भन्ने यकिन भइसकेको छैन।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी दाहालले बताए।

पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेल, वीरबहादुर राना, विनोद गिरी, नवराज भेटुवाल, पूर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिवबहादुर रानामगर, युवराज अधिकारी, सुशान्त श्रेष्ठ, सुचिमबहादुर राना, सविन श्रेष्ठ, प्रेमबहादुर राना र अनिल भेटुवाल छन्।

त्यस्तै रामशरण सुवेदी, मिनबहादुर राना, देवेन्द्र राना, दीपक तामाङ, राजकुमार भेटुवाल, दिनेश अधिकारी, दिनेश पुलामी, टेकबहादुर राना, सन्तोष श्रेष्ठ, गल्छी–८ का सानुभाइ श्रेष्ठ, सिद्धलेक–७ का सानुभाइ श्रेष्ठ, विचारी आले, नारायण श्रेष्ठ, अग्नि आले र सकुर अन्सारी पक्राउ परेका छन्।