August 29, 2026, Saturday
२०८३ भाद्र १३

कञ्चनपुरमा १३ किलो ९०५ ग्राम चरेशसहित दुई जना पक्राउ

धनगढी । कञ्चनपुरमा प्रहरीले १३ किलो ९०५ ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

कृष्णपुर नगरपालिका–५ गजरौलाबाट बझाङका दुई जनालाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिएका हुन ।

पक्राउ पर्नेमा बुङ्गल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ५० वर्षीय करन धामी रहेका छन्।

रावतका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोस्ट गजरौलाबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको सेतो बोलेरो पिकअप जाँच गरेको थियो।

जाँचका क्रममा बोलेरोको बोनेटमा लुकाएर राखिएको अवस्थामा १३ किलो ९०५ ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले चरेशसहित बोलेरो र दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।