August 29, 2026, Saturday
२०८३ भाद्र १३

बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह

बैतडी : उमेर पढ्ने, खेल्ने र भविष्यको सपना बुन्ने हो। तर बैतडीका धेरै किशोरीका लागि यही उमेर मातृत्वको जिम्मेवारी बोक्ने समय बनिरहेको छ। स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तीन वर्षको तथ्यांकले २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या वर्षेनी बढ्दै गएको देखाएको छ।

तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट ७५२ जना किशोरीले सुरक्षित प्रसूति सेवा लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा २० वर्ष नपुग्दै आमा बनेका २२१ किशोरीले सुरक्षित प्रसूति सेवा लिएका थिए। आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २५८ पुग्यो। गत आर्थिक वर्ष २०८२/८३ मा थप वृद्धि हुँदै २७३ किशोरीले प्रसूति सेवा लिए।

अर्थात् तीन वर्षमा किशोरी आमाको संख्या घट्नुको साटो लगातार बढेको छ। तथ्यांकले बैतडीमा बालविवाहको समस्या अझै गहिरो रहेको संकेत गर्छ। बालविवाह न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न अभियान सञ्चालन भइरहे पनि त्यसको प्रभाव अपेक्षाअनुसार देखिन सकेको छैन।

कानुन कडा, व्यवहारमा उस्तै समस्या

नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ। बालविवाहलाई कानुनी अपराध मानेर रोकथाम तथा नियन्त्रणका लागि विभिन्न व्यवस्था गरिएको छ। नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्यसमेत लिएको छ।

तर बैतडीका ग्रामीण बस्तीमा अवस्था फरक देखिन्छ। कानुन बनेको छ, अभियान चलेका छन्, सचेतनामूलक कार्यक्रम भइरहेका छन्, तर किशोरी आमा बन्ने क्रम रोकिएको छैन।

स्वास्थ्य कार्यालयको तथ्यांकले नै यसको पुष्टि गर्छ। २०८०/८१ मा २२१ किशोरीले प्रसूति सेवा लिएकोमा एक वर्षपछि ३७ जना बढेर २५८ पुग्यो। त्यसको अर्को वर्ष फेरि १५ जना थपिएर संख्या २७३ पुगेको छ।

यो संख्या केवल स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएका किशोरीको हो। स्वास्थ्य संस्थाबाहिर हुने प्रसूति वा तथ्यांकमा नसमेटिएका घटनालाई जोड्ने हो भने अवस्था अझ गम्भीर हुन सक्ने सरोकारवालाको अनुमान छ।

बदलिँदै बालविवाहको स्वरूप

बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गरिरहेकी अभियन्ता कुन्ती भट्टका अनुसार पछिल्लो समय बालविवाहको स्वरूप पनि परिवर्तन हुँदै गएको छ।

परम्परागत रूपमा परिवारको सहमतिमा हुने मागी विवाहसँगै किशोर–किशोरी आफैँले निर्णय गरेर घर छाड्ने र विवाह गर्ने क्रम बढेको उनको भनाइ छ। यसले बालविवाह नियन्त्रणको चुनौती थप जटिल बनाएको छ।

‘बालविवाह कुनै एक पक्षको प्रयासले मात्रै रोक्न सकिँदैन, यसका लागि बहुपक्षीय प्रयास आवश्यक छ,’ भट्टले भनिन्।

उनका अनुसार बालविवाह रोक्न परिवार, विद्यालय, स्थानीय तह, प्रहरी, स्वास्थ्य संस्था, समुदाय तथा सामाजिक संघसंस्थाबीच समन्वय आवश्यक छ। कानुनको जानकारी मात्रै दिएर बालविवाह अन्त्य नहुने भएकाले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य, रोजगारी तथा भविष्यसँग जोडिएका विषयमा समेत काम गर्नुपर्ने उनको भनाइ छ।

किन बढ्दैछन् किशोरी आमा ?

किशोरी आमाको संख्या बढ्नुको एउटा प्रमुख कारण बालविवाह भए पनि यसको पछाडि सामाजिक, आर्थिक र पारिवारिक कारणसमेत जोडिएका छन्।

ग्रामीण क्षेत्रमा अझै पनि कम उमेरमै विवाहलाई सामान्य रूपमा लिने सामाजिक सोच कतिपय समुदायमा कायम छ। छोरीलाई चाँडै विवाह गरेर पठाउनुपर्छ भन्ने पुरानो मान्यता, शिक्षाबाट किशोरीको दूरी, परिवारको आर्थिक अवस्था र सामाजिक दबाबले पनि समस्या बढाउने गरेको सरोकारवालाहरू बताउँछन्।

अर्कोतर्फ, मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो पहुँचसँगै किशोर–किशोरीबीचको सम्बन्धमा आएको परिवर्तनले पनि नयाँ चुनौती थपेको छ। सम्बन्धमा रहेका किशोर–किशोरीले परिवारको विरोध वा सामाजिक दबाबका कारण भागी विवाह गर्ने अवस्था देखिन थालेको अभियन्ताहरूको भनाइ छ।

त्यसैले अहिले बालविवाह रोक्ने अभियानलाई केवल ‘विवाह नगर’ भन्ने चेतनामै सीमित राखेर पुग्ने अवस्था छैन। किशोर–किशोरीलाई सही सूचना, परामर्श र सुरक्षित वातावरण उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक छ।

कम उमेरको मातृत्व, स्वास्थ्यमा जोखिम

कम उमेरमै गर्भधारण र प्रसूति हुँदा किशोरी आमा तथा नवजात शिशुको स्वास्थ्यमा विभिन्न जोखिम बढ्न सक्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्ट बताउँछन्।

‘कम उमेरमा बच्चा जन्माउँदा कुपोषण, कम तौलको बच्चा जन्मिने, रक्तअल्पतालगायतका जोखिम निम्तिने गर्छन्,’ उनले भने।

किशोरीको शारीरिक तथा मानसिक विकास पूर्ण रूपमा भइनसकेको अवस्थामा गर्भधारण र प्रसूतिको जिम्मेवारी थपिँदा स्वास्थ्यसँगै उनीहरूको शिक्षा र सामाजिक जीवनमा समेत असर पर्न सक्छ।

कम उमेरमा विवाह भएपछि धेरै किशोरीको पढाइ रोकिने, आर्थिक रूपमा अरूमाथि निर्भर हुनुपर्ने र परिवारको जिम्मेवारीमा बाँधिनुपर्ने अवस्था आउन सक्छ। यसले उनीहरूको भविष्यका अवसरसमेत सीमित गर्ने जोखिम हुन्छ।

तथ्यांकले दिएको चेतावनी

बैतडीमा तीन वर्षमा ७५२ किशोरीले सुरक्षित प्रसूति सेवा लिनु सामान्य तथ्यांक होइन। यो जिल्लामा बालविवाहविरुद्ध सञ्चालन भइरहेका अभियानको प्रभावकारिता पुनरावलोकन गर्नुपर्ने संकेत पनि हो।

स्थानीय तहहरूले बालविवाहविरुद्ध अभियान सञ्चालन गरे पनि त्यसको प्रभाव गाउँ–गाउँसम्म कति पुगेको छ भन्ने प्रश्न उठेको छ। विद्यालय छाड्ने किशोरीको अवस्था, जोखिममा रहेका परिवारको पहिचान, किशोर–किशोरीका लागि परामर्श सेवा तथा बालविवाहसम्बन्धी उजुरीमा हुने कानुनी कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।

बालविवाह रोक्ने जिम्मेवारी सरकार वा प्रहरीको मात्र होइन। परिवारले छोरीको विवाहलाई समस्या समाधानको माध्यम होइन, उनको भविष्यसँग जोडिएको निर्णयका रूपमा बुझ्न आवश्यक छ। विद्यालयले पनि किशोर–किशोरीलाई जीवनोपयोगी शिक्षा र परामर्श दिनुपर्छ।

बैतडीको तीन वर्षको तथ्यांकले एउटा गम्भीर सन्देश दिएको छ, कानुन बनेर मात्रै बालविवाह रोकिँदैन। अभियान चलाएर मात्रै किशोरी आमा बन्ने क्रम रोकिन्न। समाजको सोच, परिवारको व्यवहार र राज्यको कार्यान्वयन प्रणाली एकसाथ बदलिनुपर्छ।

नत्र २०३० भित्र बालविवाह अन्त्य गर्ने राष्ट्रिय लक्ष्य कागजमा सीमित रहनेछ र बैतडीका किशोरीहरू पढ्ने उमेरमै मातृत्वको भारी बोकिरहनुपर्ने अवस्था कायमै रहनेछ।