August 29, 2026, Saturday
२०८३ भाद्र १३

डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी

डोटी : डोटी उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि दीपक बहादुर खड्काले अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। संघको अधिवेशन नजिकिएसँगै नेतृत्वका लागि आकांक्षीहरूबीच सक्रियता बढिरहेका बेला खड्काले आफ्नो उम्मेदवारीसँगै आगामी कार्यकालका लागि योजना र प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

संघका पूर्व महासचिव खड्काले बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्षमा आफ्नो दाबी घोषणा गर्दै डोटीको उद्योग, व्यापार, पर्यटन र कृषि क्षेत्रलाई चलायमान बनाउने तथा व्यवसायीका समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

डोटी उद्योग वाणिज्य संघको अधिवेशन तथा साधारणसभा आगामी भदौ २५ गते हुँदैछ। संघले अधिवेशनलाई लक्षित गर्दै सदस्यता नवीकरणका लागि भदौ १८ गतेसम्मको समयसीमा तोकेको छ। अधिवेशन नजिकिएसँगै संघको नयाँ नेतृत्वका लागि आन्तरिक रूपमा आकांक्षा र दाबीहरू सार्वजनिक हुन थालेका छन्।

खड्काले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको प्रतिस्पर्धाका रूपमा नभई जिल्लाका उद्योगी–व्यवसायीको हकहित, सम्मान र आर्थिक गतिविधिको विस्तारसँग जोडिएको अभियानका रूपमा अघि बढाउने बताएका छन्।

उनका अनुसार डोटीमा उद्योग तथा व्यापारको वातावरण विस्तार गर्न निजी क्षेत्र, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ। व्यवसायीले भोगिरहेका समस्या पहिचान गरी सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने र समाधानका लागि निरन्तर पहल गर्ने उनको योजना छ।

पर्यटन र स्थानीय उत्पादनमा जोड

होटल, पर्यटन तथा उद्योग–व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको उल्लेख गर्दै खड्काले डोटी तथा सुदूरपश्चिमका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउन पहल गर्दै आएको बताएका छन्।

खप्तड, बडीमालिका, रामारोशन, सैपाल र शैलेश्वरीलगायत धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन, होमस्टे विकास, हेलिटुरिजम र पर्यटन प्याकेज निर्माणलाई उनले प्राथमिकतामा राखेका छन्।

त्यस्तै, डोटीमा उत्पादित कृषि तथा स्थानीय उत्पादनको ब्रान्डिङ, बजारीकरण र प्रचार–प्रसारमार्फत स्थानीय उद्यमशीलता बढाउने उनको योजना छ। व्यापार मेला, कृषि मेला, पर्यटन महोत्सव तथा स्थानीय उत्पादन प्रदर्शनीलाई नियमित बनाउन पहल गर्ने उनले बताएका छन्।

व्यवसायीको क्षमता अभिवृद्धिदेखि संघको भवन निर्माणसम्म

खड्काले व्यवसायीको क्षमता अभिवृद्धिका लागि सीपमूलक तालिम, नेतृत्व विकास तथा व्यवसाय व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

संघको अपूरो भवन निर्माण सम्पन्न गर्नु पनि आफ्नो प्रमुख प्राथमिकता रहेको उनले बताएका छन्। संघको भौतिक पूर्वाधारलाई व्यवस्थित गर्दै त्यसलाई व्यवसायीको हितमा प्रभावकारी रूपमा उपयोग गर्ने उनको योजना छ।

डोटीबाट भइरहेको बढ्दो बसाइँसराइलाई समेत उद्योग तथा व्यवसाय क्षेत्रसँग जोडेर हेर्नुपर्ने खड्काको धारणा छ। स्थानीयस्तरमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक वातावरण निर्माणमा संघले पहल गर्नुपर्ने उनले बताएका छन्।

उनले कृषि, पर्यटन, उद्योग र व्यापारलाई जिल्लाको आर्थिक विकासका मुख्य आधारका रूपमा अघि बढाउने योजना सार्वजनिक गरेका छन्।

‘संघ सबै व्यवसायीको साझा संस्था बनाउँछु’

खड्काले नेतृत्व पाए संघलाई पारदर्शी, उत्तरदायी र समावेशी संस्थाका रूपमा विकास गर्ने दाबी गरेका छन्।

संघमा व्यक्तिगत प्रभावभन्दा संस्थागत निर्णयलाई प्राथमिकता दिने बताउँदै उनले सबै क्षेत्र, व्यवसाय र समुदायको प्रतिनिधित्व हुने गरी सक्षम टिम निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

‘बलियो संस्था बनाउन बलियो, सक्षम, इमानदार, अनुभवी र सबै क्षेत्रको प्रतिनिधित्व हुने टिम आवश्यक हुन्छ,’ खड्काले आफ्नो प्रतिबद्धतामा भनेका छन्, ‘सबैलाई समेट्ने, सामूहिक निर्णय र साझा जिम्मेवारीमा आधारित कार्यसमिति निर्माण गर्ने मेरो प्रतिबद्धता छ।’

लामो संस्थागत अनुभव

खड्का डोटीको उद्योग तथा पर्यटन क्षेत्रसँगै व्यवसायीका विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहिसकेका छन्।

उनी होटल व्यवसायी संघ डोटीको अध्यक्षका रूपमा दुई कार्यकाल अर्थात् सात वर्ष काम गरिसकेका छन्। होटल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षका रूपमा एक कार्यकाल तीन वर्ष जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै, डोटी उद्योग वाणिज्य संघमा सदस्यका रूपमा एक कार्यकाल काम गरेका खड्का एक कार्यकाल महासचिवसमेत बनेका थिए।

यही अनुभवलाई आधार बनाउँदै उनले आगामी नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

सदस्यता नवीकरण गर्न आग्रह

खड्काले संघका व्यवसायी सदस्यहरूलाई भदौ १८ गतेभित्र आफ्नो फर्म तथा सदस्यता नवीकरण गर्न आग्रह गरेका छन्।

बलियो र प्रतिनिधिमूलक उद्योग वाणिज्य संघ निर्माणका लागि प्रत्येक व्यवसायी सदस्यको सहभागिता महत्वपूर्ण हुने भन्दै उनले अधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

आफूलाई व्यक्तिका रूपमा मात्र नभई विगतको काम, अनुभव, क्षमता, इमानदारी र उद्योग–व्यवसाय क्षेत्रप्रतिको प्रतिबद्धताका आधारमा मूल्याङ्कन गर्न उनले व्यवसायीहरूसँग आग्रह गरेका छन्।

‘व्यक्तिभन्दा संस्था, स्वार्थभन्दा साझा हित, प्रतिस्पर्धाभन्दा एकता र नाराभन्दा कामलाई प्राथमिकता दिऔँ,’ खड्काले भनेका छन्।

आगामी भदौ २५ गते हुने अधिवेशनलाई डोटीका उद्योगी–व्यवसायीबीच एकता, सहकार्य र नयाँ सोचलाई संस्थागत गर्ने अवसरका रूपमा लिएको बताउँदै उनले आफूलाई साथ, समर्थन र विश्वास गर्न व्यवसायीहरूसँग अपिल गरेका छन्।