August 29, 2026, Saturday
२०८३ भाद्र १३

चितवनमा पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिँदै

चितवन । बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका चितवनमा रहेका २२९ शव तथा शवका अवशेष जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

शवहरू सड्न थालेको र दुर्गन्धका कारण संक्रमण तथा महामारीको जोखिम बढ्न सक्ने भएपछि जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनका अनुसार बाढीपछि चितवनमा २३३ शव संकलन भएका छन्। तीमध्ये चार जनाको मात्रै पहिचान भएको छ भने बाँकी २२९ शव तथा अवशेष होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरी राखिएका छन्।

लामो समयसम्म राख्दा शव थप सड्ने–गल्ने र स्वास्थ्य जोखिम बढ्ने भएकाले सम्मानजनक, सुरक्षित तथा कानुनी रूपमा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ।

पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार सबै शव भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा जमिनमुनि व्यवस्थापन गरिनेछ।

तर शव व्यवस्थापनअघि सबैको डीएनए नमुना संकलन गरिने प्रशासनले जनाएको छ। प्रत्येक शवलाई संकेत नम्बर दिएर अभिलेखसमेत राखिनेछ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा बाध्यात्मक परिस्थितिका कारण यस्तो निर्णय गर्नुपरेको भन्दै पीडित परिवारप्रति क्षमायाचना गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी बाढीसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक अनुसार शनिबार बिहान १० बजेसम्मको तथ्याङ्कअनुसार विभिन्न मानव अङ्गसहित हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ।

शव भेटिएका स्थानहरूको विवरण हेर्दा सबैभन्दा बढी चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १ सय ५८ तथा नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको छ। नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणको तथ्याङ्क छ।

बाढीमा परी अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा ठुलो सङ्ख्या जलविद्युत् आयोजनाका कामदारहरूको रहेको छ। आयोजनाहरूबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन्।

788452653_1080543128000251_9112974094826433965_n