August 29, 2026, Saturday
२०८३ भाद्र १३

रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २३ सयभन्दा बढीको उद्धार

काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार विपद्मा परी हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

फेला परेका ६१६ शवमध्ये सबैभन्दा बढी चितवनमा २३३ जना रहेका छन्। जिल्लागत विवरणअनुसार नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार विपद्मा परेका २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट ३ जना रहेका छन्।

यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० पुगेको प्रहरीले जनाएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि देशभर ४ हजार ८११ जना प्रहरी कर्मचारी परिचालित छन्।