संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह जाने तयारी भइरहेको छ। महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्ने गरी मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ।
प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्। यद्यपि प्रधानमन्त्रीको भ्रमणबारे सरकारको औपचारिक निर्णय भने भइनसकेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
जलवायु परिवर्तनका कारण नेपालमा आएको विनाशकारी बाढी तथा त्यसबाट परेको असरबारे प्रधानमन्त्री शाहले महासभामा नेपालको धारणा राख्ने तयारी गरिएको छ।
विपद्को विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउन यूएन महासभालाई उपयोग गर्नुपर्ने दबाब बढिरहेका बेला प्रधानमन्त्री शाह सहभागी हुन लागेका हुन्।
प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हुनेछ।





प्रतिकृया दिनुहोस्