September 3, 2026, Thursday
२०८३ भाद्र १९

रसुवा बाढीपीडितका लागि कैलालीका दुई विद्यालयले गरे १ लाख ४२ हजार सहयोग

धनगढी । प्राकृतिक विपद्बाट प्रभावित रसुवाका बाढीपीडित परिवारको राहत तथा उद्धारका लागि कैलालीका दुई शैक्षिक संस्थाले आर्थिक सहयोग गरेका छन्।

शैलेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुल र फारवेस्ट माध्यमिक विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारबाट रकम संकलन गरी बाढीपीडितको सहयोगका लागि उपलब्ध गराएका हुन्।

शैलेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुलबाट मात्रै १ लाख १ हजार १ सय ११ रुपैयाँ संकलन भएको प्रधानाध्यापक जगन्नाथ जोराले जानकारी दिए। विद्यालयका संस्थापक अध्यक्ष नृप वडका अनुसार विपद्को कठिन घडीमा रसुवाका पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो।

त्यस्तै, फारवेस्ट माध्यमिक विद्यालयले ४१ हजार रुपैयाँ सहयोग गरेको छ। विद्यालयका प्रबन्ध निर्देशकसमेत रहेका जोराले विपद्मा परेका नागरिकको दुःखमा साथ दिन विद्यालय परिवार सधैँ तत्पर रहेको बताए।

दुवै विद्यालयबाट गरी कुल १ लाख ४२ हजार १ सय ११ रुपैयाँ बाढीपीडितको राहत तथा उद्धारका लागि संकलन भएको छ। विद्यालयहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो सहयोगले विपद्मा परेका परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ।