भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता, खोजी जारी

काठमाडौँ । भोटेकोशी बाढीपछि ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता सूचीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिए ।
उनका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म ९ हजार ३ सयभन्दा बढी नेपाली सेना खोज तथा उद्धारमा परिचालित छन् । भारतीय टनेल उद्धार टोली पनि नेपाली सेनासँग मिलेर आवश्यक उपकरणसहित कार्यरत छ ।
लाङटाङतर्फ सेना र प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको मन्त्रालयले जनाएको छ । माथिल्लो त्रिशूली–३ ‘ए’ मा चिनियाँ टनेल टोली र नेपाली सेनासहित ९३ सदस्यीय संयुक्त टोली परिचालित छ ।
शव पहिचानका लागि भारतबाट १९ र चीनबाट ५ सदस्यीय फोरेन्सिक टोली कार्यक्षेत्रमा खटिएका छन् । विपद्पछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली युनियन, विश्व बैंक र एडीबीसहितका मुलुक तथा निकायले सहयोग र ऐक्यबद्धता जनाएका छन् ।
प्रवक्ता पौडेलका अनुसार केरुङबाट १४० नेपाली तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा छन् भने चिनियाँ सीमाक्षेत्रतर्फ अझै करिब १०० नेपाली बेपत्ता छन् ।





प्रतिकृया दिनुहोस्