संस्थापनलाई चुनौती दिँदै देउवा पक्षले तोक्यो १५औँ महाधिवेशनको मिति

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षलाई चुनौती दिँदै शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको देउवा पक्षको बैठकले वडा अधिवेशन असोज १५, पालिका असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका तय गरेको हो।
महाधिवेशनका लागि आवश्यक निर्वाचन, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन, विधान संशोधन र अनुशासन समिति गठनको जिम्मेवारी नेता शशांक कोइरालालाई दिने निर्णय बैठकले गरेको छ। भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठनको जिम्मेवारीसमेत कोइरालालाई दिइएको छ।
बैठकले ७७ वटै जिल्लामा महाधिवेशन तयारी समिति गठन गर्न केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ। क्रियाशील सदस्यतासम्बन्धी विवादमा छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने व्यवस्था गरिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको अधिवेशन कार्यतालिका पछि तय गरिने भएको छ। भदौ २४ गते भक्तपुरमा ११३औँ बीपी जयन्ती मनाउने निर्णयसमेत बैठकले गरेको छ।
कांग्रेस संस्थापन पक्षले भने यसअघि नै असोज १६–१९ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। दुवै पक्षले फरक मिति तोकेपछि कांग्रेसको महाधिवेशन विवाद थप पेचिलो बनेको छ।





प्रतिकृया दिनुहोस्