September 3, 2026, Thursday
२०८३ भाद्र १८

जोरायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई ३३ लाख २८ हजार सहयोग गर्ने

डोटी । रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपीडितका लागि डोटीको जोरायल गाउँपालिकाले ३३ लाख २८ हजार ६४१ रुपैयाँ सहयोग गर्ने भएको छ।

बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।

गाउँपालिकाका अनुसार स्थानीय विपद् व्यवस्थापन कोषबाट २ लाख ५५ हजार ५५५, जनप्रतिनिधिको १५ दिन बराबरको सेवा–सुविधाबाट २ लाख ७ हजार ९५२ र कर्मचारीको तलबबाट ७ लाख ६० हजार ८४२ रुपैयाँ जुटाइनेछ।

त्यस्तै, शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट २१ लाख ४ हजार २९३ रुपैयाँ सहयोग गरिनेछ। यसरी विभिन्न स्रोतबाट जुटेको कुल ३३ लाख २८ हजार ६४१ रुपैयाँ बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा खर्च हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका उपाध्यक्ष जमुना बोहराले विपद्मा परेका नागरिकको सहयोगका लागि गाउँपालिका आफ्नो स्रोतबाट सक्दो योगदान गर्न प्रतिबद्ध रहेको बताइन्।

गाउँपालिकाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको तत्काल खोजी र घाइतेको प्रभावकारी उपचारका लागि सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ।