September 3, 2026, Thursday
२०८३ भाद्र १८

भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय

काठमाडौं । भोलि शुक्रबारदेखि २३ गतेसम्म सार्वजनिक बिदा हुने भएको छ। भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार, २१ गते आइतबार, २२ गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक र २३ गते जेनजी शहीद दिवस परेकाले लगातार पाँच दिन बिदा हुने भएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते राष्ट्रिय शोक मनाउने र २३ गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा मृत्यु भएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाइनेछ। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

यसैगरी, सरकारले भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

बाढी प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनःस्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुलमा सहुलियत तथा अन्य सुविधा उपलब्ध गराउने निर्णय पनि भएको छ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिइएको छ।

बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च, घाइते भए निःशुल्क उपचार तथा मृत्यु भए परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ।

बैठकले नेपाल प्रशासन सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका सचिव नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्यसचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।