April 25, 2025, Friday
१२ बैशाख २०८२, शुक्रबार

डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते

धनगढी । डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बुधबार राति डोटीको सायल गाउँपालिका र बझाङको वित्थडचिर गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सायल गाउँपालिका- ६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो । नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।

घाइतेहुनेमा लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी, ८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउन लागिएको एसपी शर्माले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले दिएको जानकारी अनुसार बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ वित्थडचिर गाउँपालिका-३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको हो ।