पत्रकार महासंघ बझाङका अध्यक्ष सिंह माथि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धनगढी । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि सोमबार राति चक्कु प्रहार भएको छ। सोमवार राती करिब ११ः३० बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको हो ।
घटनामा पत्रकार सिंहको आँखाको माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको थियोे । पीडित पत्रकार सिंहले होटलमा बोलाएर बिनोद कठायतको समूहले आफूमाथि चक्कु प्रहार गरेको बताएका छन्।
भोलि कुरा गरौलाभन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगाइ आफूमाथि सो समूहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेको पत्रकार सिंहले बताए। चक्कु प्रहारबाट पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सिहमाथी भएको आक्रमणको बारेमा ३ जनालाई पक्राउगरि अनुसन्धान गरिरहेको बताएको छ।
प्रहरीका अनुसार मष्टा गाउपालिकाका ४ का २९ बषिर्या वनोद कठायत, २६ बषिया शितल कठायत र मष्टा गाउपालिकाका २ का २८ बर्षका नरबहादुर द्धाललाई नियन्त्रणमा लिएको हो।
नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र बझाङ शाखाले घटनाको घोर भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ । नेपाल पत्रकार महासंघले पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको महासचिव रामप्रसाद दाहालले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि महासंघले प्रशासनको ध्यानाकर्षण गराएको छ।
महासंघले यो आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ। महासंघले पत्रकारहरूमाथि हुने कुनै पनि प्रकारका हिसा र आक्रमणको विरोध गर्दै पत्रकारहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ।
पत्रकार महासंघले अध्यक्ष ललित सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन कडा सुरक्षात्मक उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ।







प्रतिकृया दिनुहोस्