February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

बाजुरामा सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

बाजुरा । बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरी महिलाको ज्यान गएको हो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले दिएको जानकारी अनुसार हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको हो । बुढा यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् ।

सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको डा. शाहले बताए । शिशुको अवस्था भने सामान्य रहेको डा शाहले बताए ।

सुत्केरीपछि बुढामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकहरुले बताएका छन् ।