February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

बझाङ । बझाङमा जिप दुर्घटनामा हुँदा एकजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको दुर्घटनामा सोही वडास्थित बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार)को मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए ।

गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिए । उनका अनुसार महतको टाउको र कम्मरमा चोट लागेको थियो ।

दुर्घटनामा घाइते हुनेमा एकै गाउँ बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी रहेका छन् ।

त्यस्तै, वर्ष २२ वर्षीय प्रकाश धामीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गाडीमा चालक विनोद धामीसहित नौजना सवार थिए । चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख शाहले जानकारी दिए । रासस