बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का : भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध

बझाङ । बझाङमा फेरि ४.१ म्याग्निच्युडको परकम्प आएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि सानातिना परकम्प आएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेतले दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको जानकारी गराएको हो । अरू केही साना परकम्प पनि मापन गरिएको छ । तर, त्यसको म्याग्निच्युड यकिन गर्न समय लाग्ने भूकम्प मापन केन्द्रले जनाएको छ ।
बझाङको सदरमुकाम चैरपुर आसपास केन्द्रविन्दु भएर मंगलबारै दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । मंगलबारै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बझाङमा मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिएका हुन ।
स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ/ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन भत्किएको छ ।
दुई ठूला भूकम्पपछि सडक अवरुद्ध भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जयपृथ्वी नगरपालिका–७, कचलीखोला भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिए ।
सडक खुलाउनका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको उनले बताए । तर, सानातिना धक्का महसुस भइरहेकाले तत्काल त्यसतर्फ ‘मुभ’ नभएको उनको भनाइ छ । भूकम्पपछि अहिलेसम्म मानवीय र भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको उनले उल्लेख गरे ।
“भौतिक र मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । सूचना संकलन गर्ने कार्य भइरहेको छ,” उनले भने, “जयपृथ्वी नगरपालिका–७, कचलीखोलामा धुले पहिरो खसेर बाटो अवरुद्ध भएको छ । खुलाउने प्रयास जारी छ । सुरक्षा संयन्त्र स्ट्यान्डबाई छ । परकम्पहरू आइरहेकाले पहिरो हटाउन मुभ भइसकेका छैनौँ ।”





प्रतिकृया दिनुहोस्