पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १२५ रुपैयाँ

काठमाडौँ, जेठ २२ (ई-रैवार)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज मध्यरातिदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ २ रुपैयाँले वृद्धि गरेको हो ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढाएर प्रतिलिटर ८० रुपैयाँ पुर्याइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।
निरन्तर बढीरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् ।






प्रतिकृया दिनुहोस्