April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

धनगढी जेठ २२(ई-रैवार)

सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो।

थप पाँच जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ८६ पुगेको छ। जस्मा ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।

एक जना संक्रमितको मृत्यु भईसकेको छ। संक्रमित मध्ये ७ जना प्रदेशभित्रकै अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।

प्रदेशमा सबैभन्दा बढि संक्रमित भने कैलालीका छन्। अहिलेसम्म कैलालीका ३९ जनामा कोरोना पुष्टि भईसकेको छ। आज तीन जनामा कोरोना पुष्टि भएपछि कैलालीमा संक्रमितको सङख्या ३९ पुगेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

चार जना संक्रमित भने कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन्। बाँकी ३५ जनाको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, भजन प्राथमिक स्वास्थ्य केन्द्र र महाकाली अस्पतालमा उपचार भईरहेको छ।

कैलालीपछि अछाम जिल्लामा बढि संक्रमित छन्। अछाम जिल्लामा १४ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको सेती प्रादेशिक अस्पताल र अछाम अस्पतालमा उपचार भईरहेको छ।

यसैगरी कञ्चनपुर र डोटीका १०/१०, बैतडीका छ, बाजुराका तीन, बझाङका दुई, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको छ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६९, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको हो। कैलालीका चार, कञ्चनपुर, डडेल्धुरा र बैतडीका एक/एक जना संक्रमित डिस्चार्ज भईसकेका छन्।