October 26, 2026, Monday
२०८३ कार्तिक ११

११ महिनादेखि अमेरिकामा रहेका प्रकाश देउवा प्रदेशसभा सदस्यबाट पदमुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।

प्रदेशसभा बैठकमा बिना सूचना लगातार १० पटकभन्दा बढी अनुपस्थित भएपछि प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेका हुन्। यसको जानकारी आगामी प्रदेशसभा बैठकमा गराउने तयारी छ।

देउवा गत वर्ष भदौ २८ गतेदेखि अमेरिकामा छन्। स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अमेरिकामै बसेका उनी ११ महिना बितिसक्दा पनि नेपाल फर्किएका छैनन्।

संविधानको धारा १८०(घ) अनुसार सभालाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। यही व्यवस्थाअनुसार देउवाको पद रिक्त गरिएको हो।

सचिवालयका अनुसार दोस्रो कार्यकालमा प्रदेशसभाका १२८ बैठक बसेकामा देउवा ६० बैठकमा मात्रै उपस्थित भएका थिए। पछिल्ला २७ बैठकमा उनको हाजिरी छैन।

अमेरिकामा रहे पनि पद कायम रहँदासम्म उनले सेवा–सुविधा पाउँदै आएका थिए। सचिवालयका अनुसार ११ महिनामा उनको खातामा ७ लाख ५३ हजार ५ सय रुपैयाँ भुक्तानी भएको छ।

देउवा कैलाली–५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।