खगराज भट्टको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन, एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नयाँ सरकार गठन भएको छ। नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री नियुक्त भएसँगै एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले पनि शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले एमालेबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्ल आर्थिक मामिलामन्त्री तथा दमन भण्डारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका छन्। यस्तै जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिएकी छन्।
एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेपछि तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाएको हो।

यसअघि शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिमको मुख्यमन्त्रीका रूपमा शपथ लिएका थिए। मुख्यमन्त्री भट्टले पदभार सम्हालिसके पनि उनको दलबाट भने तत्काल मन्त्री नियुक्त गरिएको छैन।
संघर्षपूर्ण राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वमा
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट प्रदेश राजनीतिमा लामो र संघर्षपूर्ण राजनीतिक यात्रा तय गरेका अनुभवी कम्युनिस्ट नेता हुन्। किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका भट्टले विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल, संगठन निर्माण, जनयुद्धकालीन राजनीतिक जिम्मेवारी, शान्ति प्रक्रिया र संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै प्रदेश सरकारको नेतृत्व गर्ने ठाउँमा आइपुगेका हुन्।
भट्टको जन्म वि.सं. २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिला सुपुत्रका रूपमा भएको हो। उनले आईएल तहसम्म अध्ययन गरेका छन्।
किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश
भट्टले किशोरावस्थामै तत्कालीन राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनसँग आफूलाई जोडे। वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता लिएर उनले औपचारिक रूपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका थिए।
२०५० असोजदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भएका भट्ट सोही वर्ष कात्तिकमा डडेल्धुरा जिल्ला कमिटीको सदस्य बने। त्यसपछि उनको राजनीतिक यात्रा विद्यार्थी संगठन हुँदै पार्टीको क्षेत्रीय र केन्द्रीय जिम्मेवारीतर्फ अघि बढ्यो।
विद्यार्थी आन्दोलनदेखि भूमिगत राजनीतिसम्म
राजनीतिक जीवनको प्रारम्भिक चरणमा भट्ट अखिल क्रान्तिकारीको संगठन विस्तारमा सक्रिय रहे। डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका जिल्लामा संगठन विस्तार, राजनीतिक परिचालन र कार्यकर्ता व्यवस्थापनमा उनले भूमिका निर्वाह गरे।
२०५२ सालमा माओवादी आन्दोलनमाथि राज्यको दमन तीव्र बनेका बेला भट्ट पनि पक्राउ परे। २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट पक्राउ परेका उनी २०५३ पुस ८ गतेसम्म जेलमा रहे।
जेलमुक्त भएपछि पुनः राजनीतिक गतिविधिमा फर्किएका भट्टले संगठन निर्माण र पार्टीको राजनीतिक आधार विस्तारमा सक्रियता बढाए।
जनयुद्धकालमा क्षेत्रीय नेतृत्व
माओवादी जनयुद्धको अवधिमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हाले। कठिन राजनीतिक परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्दै उनी क्षेत्रीय नेतृत्वमा स्थापित भए।
२०६० सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरेपछि उनले पार्टीको केन्द्रीय तथा क्षेत्रीय जिम्मेवारी सम्हाल्दै राजनीतिक तथा संगठनात्मक कामलाई निरन्तरता दिए।
सुदूरपश्चिममा माओवादीको संगठन विस्तार र राजनीतिक आधार निर्माणमा उनको महत्वपूर्ण मानिन्छ।
परिवार नै राजनीतिक संघर्षमा

भट्टको राजनीतिक यात्रा व्यक्तिगत संघर्षमा मात्र सीमित थिएन। उनको परिवारका सदस्यसमेत राजनीतिक आन्दोलनमा सक्रिय थिए।
उनका दाजु जयराज भट्ट राजनीतिक आन्दोलनमा सक्रिय थिए र जनयुद्धकालमा उनको शहादत भएको थियो। भाइ उमेश भट्ट पनि भूमिगत राजनीतिमा सक्रिय भए। भाउजू नन्दा देवी भट्ट, श्रीमती मञ्जु बम तथा भाइबुहारी धर्मा बोहरासमेत पूर्णकालीन राजनीतिक गतिविधिमा संलग्न भएको बताइन्छ।
देउवासँगको चुनावी प्रतिस्पर्धादेखि प्रदेशसभासम्म
शान्ति प्रक्रियापछि भट्ट भूमिगत जीवनबाट खुला राजनीतिमा आए। संविधानसभा तथा त्यसपछिका निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा गरेको प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा समेत उनको परिचय फराकिलो बनायो।
खुला राजनीतिमा आएपछि उनले पार्टी संगठन निर्माणसँगै संसद्, संविधान निर्माण, लोकतान्त्रिक अभ्यास तथा सुदूरपश्चिमका विकासका मुद्दामा भूमिका निर्वाह गर्दै आएका छन्।
संघीय संरचनापछि उनको राजनीतिक सक्रियता सुदूरपश्चिममा थप केन्द्रित भयो। उनी तत्कालीन नेकपा (नेकपा) को सुदूरपश्चिम प्रदेश सहइन्चार्ज तथा पछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहे।
२०७९ पछि प्रदेशसभामा संसदीय दलको नेतृत्व
वि.सं. २०७९ को निर्वाचनमा डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भएपछि भट्ट सुदूरपश्चिम प्रदेशसभामा प्रवेश गरे। त्यसपछि उनी नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता बने।
पछिल्लो राजनीतिक पुनर्संरचनापछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशसभामा २२ सदस्यसहित सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। भट्ट उक्त संसदीय दलको नेतृत्वमा छन्।
लामो राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र प्रदेश राजनीतिमा निरन्तर सक्रियतापछि अब भट्टको काँधमा सुदूरपश्चिम सरकारको नेतृत्व आएको छ। तर बदलिँदो सत्ता समीकरणबीच बनेको यो सरकारका लागि राजनीतिक स्थायित्व कायम गर्नु र प्रदेशका विकासका अपेक्षा पूरा गर्नु उनको पहिलो चुनौती हुनेछ।





प्रतिकृया दिनुहोस्