October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

१५औँ महाधिवेशनका लागि कांग्रेसले विधानकै प्रावधान निलम्बन गर्‍यो, यी हुन् बैठकका १६ निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधानको धारा ३५ (२) (घ) निलम्बन गरेको छ । कांग्रेसले १५औँ महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने उद्देश्यले पार्टी विधानको उक्त निलम्बन गरेको हो। साथै, महाधिवेशन तयारीका लागि व्यवस्थापन समिति पनि गठन गरेको छ।

२४ साउनदेखि १ भदौसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष परिस्थितिमा महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएको भन्दै विधानको धारा ३५ को उपधारा (२) को (घ) निलम्बन गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयमा भनिएको छ, ‘विशेष परिस्थितिमा १५औँ महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानको धारा ३५(२)(घ) सम्बन्धमा विधानबमोजिम आवश्यक निलम्बन गर्ने निर्णय गरिएको छ।’

उक्त प्रावधानअनुसार केन्द्रीय तथा प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तीमा एक वर्षअघि स्थानीय तहका सबै अधिवेशन सम्पन्न गरी कार्यसमिति गठन गरिसक्नुपर्ने व्यवस्था छ। यस्तै, स्थानीय तहका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि सम्बन्धित अधिवेशन हुनुभन्दा तीन महिनाअघि निर्वाचित गर्नुपर्ने प्रावधानसमेत रहेको छ।

१५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिन कांग्रेसले व्यवस्थापन समिति पनि गठन गरेको छ। केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

व्यवस्थापन समितिमा आवश्यक सदस्यहरू रहनेछन्। महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायतका विषय हेर्ने विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

उपसमितिका संयोजक तथा सदस्यहरूको नामावली भने पछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।

कांग्रेसले यसअघि १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरिसकेको छ। निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित कांग्रेसले विधानमा रहेको प्रक्रियागत प्रावधान निलम्बन गरेर तयारी अघि बढाएको हो।

बैठकका १६ निर्णय