November 5, 2026, Thursday
२०८३ कार्तिक २०

लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरमाथि १६ रनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि हरमीत सिंहले सर्वाधिक ३३ रन बनाए। आदित्य महता ३० रनमा अविजित रहे भने सैफ हसनले २८ र तृत राज दासले १८ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीको बलिङमा डार्सी शर्टले तीन विकेट लिए। शेर मल्ल र तिलक भण्डारीले दुई–दुई तथा रुबेन ट्रम्पलमनले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३८ रनको योगदान दिए। निरोशन डिकवेलाले २७, दिलीप नाथले २१ र आसिफ शेखले २१ रन बनाए। रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन जोडे।

जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई विकेट लिए। हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए।

जितसँगै लुम्बिनीले चार खेलबाट तीन जित र एक ‘नो रिजल्ट’सहित ७ अंक जोडेको छ। लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत छ। जनकपुर भने पाँच खेलबाट दुई जित र तीन हारसहित ४ अंकमा छ।