आईजीपी फेरबदलमा सरकार र रास्वपाबीच मतभेद, संसदीय दल बैठक अन्योलमा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनको विषयमा पार्टी र सरकारका फरक धारणा सार्वजनिक भएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अन्योलमा परेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले आईजीपी परिवर्तन पार्टीको निर्देशनअनुसार भएको बताएका थिए। तर रास्वपा प्रवक्ता जगदीश खरेलले त्यसको खण्डन गर्दै पार्टीले कसैलाई आईजीपी राख्न वा हटाउन सरकारलाई निर्देशन नदिएको बताएका छन्।
‘पार्टीले कुनै व्यक्ति राख वा हटाऊ भन्ने काम गरेको छैन, गर्दैन । यसबारे सरकारले पुष्टि गर्ला,’ खरेलले भनेका थिए।
आईजीपी परिवर्तनबारे पार्टीसँग समन्वय नभएको विषयमा रास्वपाभित्र असन्तुष्टि देखिएको नेताहरू बताउँछन्। एक नेताका अनुसार यही विषयसहित सरकारका पछिल्ला निर्णयबारे छलफल गर्नुपर्ने भएकाले संसदीय दलको बैठक बोलाउने विषयमा अनौपचारिक छलफल भइरहेको छ।
संसदीय दलको बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं दलका नेता बालेन्द्र शाह, उपनेता गणेश पराजुली र मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीबीच छलफल भए पनि मिति तय भएको छैन।
संसदीय दलका उपनेता गणेश पराजुलीले बैठकको विषयवस्तुमा अनौपचारिक छलफल भइरहेको बताए। ‘कन्टेन्ट क्लियर हुँदासाथ दलको बैठक बस्छ । कसरी अगाडि बढ्ने भन्नेबारे हामी अनौपचारिक छलफलमै छौँ,’ पराजुलीले भने।
रास्वपाले पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल गरिरहेको छ। बिचौलिया इनम सापकोटासँग सर्वोच्चका न्यायाधीशहरूको सम्बन्ध रहेको दाबीबारे छानबिन तथा महाभियोग प्रक्रिया अघि बढाउन पार्टीले संसदीय दललाई निर्देशन दिएको बताइएको छ।
यस्तै, सञ्चारगृहमा प्रहरी धरपकड तथा सञ्चारकर्मी पक्राउ परेको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरिएको रास्वपाले जनाएको छ।
यी विषयमा छलफल गर्न रास्वपाले गत शनिबार सचिवालयको आकस्मिक बैठकसमेत बोलाएको थियो। त्यसपछि आईजीपी परिवर्तनको निर्णय आएपछि पार्टी र सरकारका प्रवक्ताबीच सार्वजनिक रूपमै फरक धारणा आएका हुन्।
सरकारका प्रवक्ता पोखरेलले पार्टीको निर्देशनअनुसार आईजीपी परिवर्तन भएको दाबी गरेपछि रास्वपा प्रवक्ता खरेलले पार्टीको त्यस्तो निर्देशन नभएको बताएका थिए।
पार्टी सभापति रवि लामिछानेले भने पछिल्ला घटनाक्रम, पार्टीका निर्णय कार्यान्वयन, सरकारका निर्णय तथा महाभियोग प्रक्रियालगायत विषयमा पार्टीका शीर्ष नेता र सरकारमा रहेका मन्त्रीहरूसँग छलफल गरिरहेको बताइएको छ।
रास्वपाले संसदीय दलको बैठकका लागि एजेन्डा स्पष्ट भएपछि बैठक बोलाउने जनाएको छ। अहिलेसम्म बैठकको मिति भने तय भएको छैन।



प्रतिकृया दिनुहोस्