लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। निरोशन डिकवेलाले २७ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे।
आसिफ शेख र दिलीप नाथले समान २१ रन बनाउँदा शामिम हुसेनले १३ रन जोडे। रुबेन ट्रम्पलम्यानले ८ बलमा २ छक्कासहित १५ रन बनाए। सन्दीप जोराले ९ रन बनाए। ओपनर डार्सी सर्ट भने खेलको पहिलो बलमै आउट भएका थिए।
जनकपुरका बलरले लुम्बिनीलाई ठूलो साझेदारी गर्न दिएनन्। १७ ओभर स्पिन बलिङ गरेको जनकपुरका स्पिनरले चार विकेट लिए भने पेसरले तीन विकेट हात पारे।
जनकपुरका विशाल सुशलिङ र राहुल यादवले समान दुई विकेट लिए। विशालले ४ ओभरमा २१ तथा राहुलले २ ओभरमा १७ रन खर्चिए। कप्तान हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए।
लुम्बिनीले प्रतियोगिताका सुरुवाती दुई खेलमा विपक्षीलाई क्रमशः ८७ र ९७ रनमा अलआउट गरेको थियो। ती खेलमा बलरको प्रभावका कारण लुम्बिनीका ब्याटरले ठूलो दबाब सामना गर्नुपरेको थिएन।
पोखराविरुद्धको जितपछि कप्तान रोहित पौडेलले पनि ब्याटिङमा खासै परीक्षण नभएको बताएका थिए। तर जनकपुरविरुद्ध भने लुम्बिनीले सुरुआती बलमै विकेट गुमाएपछि उसका १० खेलाडीले ब्याटिङका लागि क्रिजमा पुग्नुपरेको थियो।
अब जनकपुरले प्रतियोगितामा आफ्नो प्रभाव कायम राख्न २० ओभरमा १५० रन बनाउनुपर्नेछ।



प्रतिकृया दिनुहोस्