गगन पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक, ‘सरकारको कदमको प्रतिवाद गर्छौँ’

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापा पक्राउ पर्ने चर्चा चुलिएपछि बिहीबार पदाधिकारी बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे बस्ने कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले जानकारी दिए।
खतिवडाका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै सरकारका पछिल्ला कदमबारे छलफल हुनेछ। उनले थापालाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने चर्चालाई भने अस्वीकार गरेका छन्।
‘सभापति पक्राउको आधार छैन। कांग्रेसको आवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो,’ खतिवडाले भने, ‘सरकारको विवादित कदमबारे हिजो नै ६ बुँदे धारणा सार्वजनिक गरिसकेका छौँ।’
कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि सरकारले भ्रम फैलाएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत आफू काठमाडौं आउँदै गरेको बताएका छन्। ‘सरकार, तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ। प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,’ उनले लेखेका छन्।
सभापति थापा पक्राउ पर्ने चर्चाबीच केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भने आफूलाई त्यस्तो कुनै निर्देशन प्राप्त नभएको जनाएको छ। सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले आफू र आफ्नो कार्यालयलाई थापालाई पक्राउ गर्ने विषयमा हालसम्म कुनै आदेश नआएको स्पष्ट पारे।
यता, थापाको सचिवालयले भने पछिल्ला दुई दिनदेखि सादा पोशाकका अपरिचित व्यक्तिले निगरानी बढाएको दाबी गरेको छ। सचिवालयका अनुसार मोटरसाइकलमा सवार केही व्यक्तिले थापाको गतिविधि पछ्याउने गरेको र सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा समेत सादा पोशाकका अपरिचित व्यक्तिको आवतजावत बढेको छ।
प्रहरी स्रोतका अनुसार बुधबार पदमुक्त हुनुअघि तत्कालीन आईजीपी दानबहादुर कार्कीले ‘माथिको आदेश’ भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापामाथि निगरानी राख्न निर्देशन दिएका थिए। तर, बिहीबार कार्यालय समय सुरु भएपछि कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले सहकर्मीलाई दिएको बिफ्रिङमा त्यस्तो कुनै निर्देशन नदिएको स्रोतको दाबी छ।
यसैबीच कांग्रेस महामन्त्री उदयशमशेर राणाले सभापति थापामाथि सरकारले कुनै कदम चाले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन्। ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै उनले थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने बताए।
‘सभापति थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन। त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ,’ राणाले भने।
बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गर्दै राणाले सरकारलाई प्रतिशोधपूर्ण कदम नचाल्न चेतावनी दिए। उनले त्यस्तो अवस्था आए पार्टीका नेता तथा कार्यकर्तालाई सशक्त प्रतिरोधमा उत्रिनसमेत आह्वान गरे।
राणाले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारविपरीत रहेको आरोप लगाए। उनले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा पदमुक्त गरेको दाबीसमेत गरे।



प्रतिकृया दिनुहोस्