एनपीएलमा आज दुई खेल : विराटनगर-जनकपुर र लुम्बिनी-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससँग तथा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछन्।
आजको पहिलो खेलमा विराटनगर र जनकपुर दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्। तीन खेल खेलेको विराटनगरले एक खेलमा जित निकाल्दा दुई खेलमा पराजय बेहोरेको छ। विराटनगर चितवन राइनोज तथा कर्णाली याक्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सलाई हराएको थियो।
जनकपुरको प्रदर्शन भने तुलनात्मक रूपमा बलियो छ। तीन खेलबाट दुई जित हात पारेको जनकपुर एक खेलमा पराजित भएको छ। जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग हारेको थियो भने त्यसपछि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो।
अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित दुवै टोली मैदान उत्रिँदैछन्। विराटनगरका लागि यो खेल जितको लयमा फर्किने अवसर हुनेछ भने जनकपुर लगातार तेस्रो जितको खोजीमा हुनेछ।
आजै दिउँसो साढे ४ बजे दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। दुई खेल खेलेको लुम्बिनीले एक जित हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ।
लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। चितवन राइनोजविरुद्धको दोस्रो खेल भने वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले एक–एक अंक पाएका थिए।
पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। दुई खेल खेलेको पोखरा दुवैमा पराजित भएको छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिमसँग तथा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
त्यसैले पोखराका लागि लुम्बिनीविरुद्धको खेल प्रतियोगितामा पहिलो जितको खाता खोल्ने अवसर हुनेछ। लुम्बिनी भने आफ्नो बलियो सुरुवातलाई निरन्तरता दिँदै अंक थप्ने लक्ष्यमा हुनेछ।
एनपीएलको लिग चरणमा हरेक खेलसँगै अंकतालिकाको समीकरण थप प्रतिस्पर्धात्मक बन्दै गएको छ। आजका दुवै खेलले शीर्ष स्थानको दौडदेखि पहिलो जितको खोजीमा रहेका टोलीसम्मको समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस्