देउवा समूहको निर्णय : जनप्रतिनिधि स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।
देउवा समूहले कांग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।
देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै जनप्रतिनिधिहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि कायम गर्ने निर्णय भएको जानकारी गराएका छन्।
निर्वाचन समितिले पठाएको पत्रमा प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत कांग्रेसको तर्फबाट निर्वाचित भई हाल पदमा कार्यरत स्थानीय तहका पालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका प्रमुख–उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ।
पत्रमा भनिएको छ, ‘निर्वाचित भई हाल पदमा कार्यरत रहनुभएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु–गराउनु हुन अनुरोध गर्दछु।’
देउवा समूहले महाधिवेशनको संगठनात्मक प्रक्रिया अघि बढाइरहेका बेला जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो। यस निर्णयले महाधिवेशन प्रतिनिधिको संख्या तथा निर्वाचन प्रक्रियामा समेत प्रभाव पार्ने देखिएको छ।






प्रतिकृया दिनुहोस्