October 15, 2026, Thursday
२०८३ आश्विन २९

कांग्रेसको १५औँ महाधिवेशन : पदाधिकारीमा गगनको पकड, देउवा समूहबाट आएका नेताको दबदबा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आगामी चार वर्षका लागि सभापतिसहित १५ पदाधिकारीको नतिजा सार्वजनिक भएको छ। दुई पदाधिकारी निर्विरोध निर्वाचित हुँदा सभापतिसहित १३ पदाधिकारी निर्वाचनबाट आएका छन्।

सभापतिमा गगनकुमार थापाले फराकिलो मतान्तरसहित श्यामकृष्ण खड्कीलाई पराजित गरेका छन्। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्कीले ३७५ मत पाए। कुल ७ हजार ३९ मत खसेकामा ५४ मत बदर भएको थियो।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।

खुला उपसभापतिमा सात जनाबीच भएको प्रतिस्पर्धाबाट डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भए। उनीहरूसँग गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र प्रा.डा. चन्द्रमोहन यादव प्रतिस्पर्धामा थिए।

समावेशी उपसभापतिमा पाँच जनाबीच भएको प्रतिस्पर्धाबाट विनोद चौधरी निर्वाचित भए। उनका प्रतिस्पर्धी जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण पराजित भए।

खुला महामन्त्रीमा आठ जनाबीच भएको प्रतिस्पर्धाबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए। महिला महामन्त्रीमा तीन जनाबीचको प्रतिस्पर्धाबाट डा. डिला सङ्ग्रौला निर्वाचित भइन्। उनले महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनाललाई पछि पारिन्।

कांग्रेसमा १० क्लस्टरबाट ११ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये अहिलेसम्म ६ पदको नतिजा आएको छ।

महिलातर्फ प्रतिमा गौतम सहमहामन्त्री निर्वाचित भएकी छन्। खुला सहमहामन्त्रीका दुई पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तामाङ, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’ तथा पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

अब मुस्लिम, मधेसी, थारू, अल्पसंख्यक–अपाङ्गता र खसआर्यतर्फका सहमहामन्त्रीको नतिजा आउन बाँकी छ।

देउवा समूहबाट आएका नेताको बलियो उपस्थिति

१५औँ महाधिवेशनको पदाधिकारी परिणाममा सभापति थापाको नेतृत्वसँगै विशेष महाधिवेशनपछि बनेको नयाँ शक्ति समीकरणको प्रभाव पनि देखिएको छ।

विशेष महाधिवेशनअघि तत्कालीन सभापति शेरबहादुर देउवा समूहमा रहेका केही नेता विशेष महाधिवेशनको क्रममा समूह परिवर्तन गर्दै संस्थापन पक्षमा पुगेका थिए। उनीहरूमध्ये पुष्पा भुसाल, विनोद चौधरी, उदयशमशेर राणा, डिला सङ्ग्रौला र बहादुरसिंह लामा तामाङले यसपटक पदाधिकारीमा सफलता हात पारेका छन्।

भुसाल महिला उपसभापति, चौधरी समावेशी उपसभापति, राणा खुला महामन्त्री, सङ्ग्रौला महिला महामन्त्री तथा लामा आदिवासी जनजातितर्फको सहमहामन्त्री निर्वाचित भएका छन्।

त्यसैगरी महाधिवेशनको मुखैमा देउवा समूह छाडेर संस्थापन पक्षमा आएका रामहरि खतिवडा र जीवनबहादुर शाहीले पनि निर्वाचन जितेका छन्। खतिवडा खुला सहमहामन्त्री र शाही पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री बनेका छन्।

भुसाल देउवा समूह छाडेर विशेष महाधिवेशनमा सहभागी हुँदै उपसभापति बनेकी थिइन्। फरमुल्लाह मन्सुर भने १४औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री पद छाडेर विशेष महाधिवेशनमा सहभागी भएका थिए र त्यहाँ पुनः सहमहामन्त्री चयन भएका थिए। यसपटक उनी समावेशी उपसभापतिमा पराजित भए।

उदयशमशेर राणा र डिला सङ्ग्रौला पनि विशेष महाधिवेशनमा देउवा समूह छाडेर सहभागी हुँदै सहमहामन्त्री बनेका थिए। यसपटक दुवै जना महामन्त्रीमा निर्वाचित भएका छन्।

यसले कांग्रेसको १५औँ महाधिवेशनमा केवल पदाधिकारीको नेतृत्व चयन मात्र नभई विशेष महाधिवेशनपछि बनेको नयाँ शक्ति समीकरणको परीक्षणसमेत भएको देखाएको छ।