October 15, 2026, Thursday
२०८३ आश्विन २९

विवादित अडियोमा सांसद खगेन्द्र सुनारको दाबी : ‘संलग्न छैन’, रास्वपाले थाल्यो गहिरो छानबिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित जवाफ दिएका छन्। आरोप अस्वीकार गरेपछि रास्वपाले अडियोको वास्तविक स्रोत र प्रामाणिकतासहित घटनाको स्वतन्त्र छानबिन अघि बढाएको छ।

एक महिलासँग आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिने अडियो सार्वजनिक भएपछि सांसद सुनार विवादमा तानिएका थिए।

प्रकरणमा उठेका प्रश्नबारे लिखित प्रतिक्रिया दिन रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो। तोकिएको समयभित्रै उनले जवाफ पठाउँदै आफूमाथि लगाइएको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले जानकारी दिए।

‘तोकिएकै समयमा उहाँले लिखित प्रतिक्रिया दिनुभएको छ। पत्रमा आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ,’ आयोगका ती सदस्यले भने, ‘आरोप स्वीकार गर्नुभएको भए कारबाही प्रक्रिया अगाडि बढ्थ्यो। उहाँले स्वीकार गर्नुभएको छैन। पीडित पक्षबाट उजुरी पनि आएको छैन। त्यसैले स्वतन्त्र छानबिन प्रक्रिया अगाडि बढाउँछौँ।’

आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरी महिलासँग ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने अडियो सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको थियो। अडियो सार्वजनिक भएपछि आलोचना बढेसँगै रास्वपाले घटनाको सत्यतथ्य अनुसन्धान गर्न अनुशासन आयोगलाई जिम्मेवारी दिएको थियो।

आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार सांसद सुनारको लिखित प्रतिक्रिया लिने पहिलो चरणको काम सकिएको छ। अब अडियोको वास्तविक स्रोत, प्रमाण र प्रामाणिकतामाथि दोस्रो चरणको अनुसन्धान अघि बढाइएको छ।

‘विषयवस्तुको गाम्भीर्य र अति संवेदनशील विषय भएको हुनाले उहाँको लिखित प्रतिक्रियाको अलावा दोस्रो चरणको छानबिन प्रारम्भ भएको छ,’ भट्टराईले भने।

उनका अनुसार छानबिन समितिले अडियोको वास्तविक स्रोतसम्म पुगेर प्रमाण संकलन गर्नेछ। आवश्यक कागजात मगाउने, अडियोको प्रामाणिकता परीक्षण गर्ने तथा आवश्यक परे विशेषज्ञको राय र प्राविधिक भेरिफिकेसनसमेत गरिनेछ।

‘उहाँसँग उठेका प्रश्नको सन्दर्भमा सम्बन्धित प्रमाण संकलन भइराखेको छ। आवश्यक परे विशेषज्ञको राय, भेरिफिकेसन गर्न सकिने छ,’ भट्टराईले भने, ‘अनुसन्धानलाई गहिराइसम्म पुर्‍याएर चुस्त, दुरुस्त र वस्तुनिष्ठ छानबिनका लागि छुट्टै विशेष छानबिन समिति गठन गरेका छौँ।’

भट्टराईकै संयोजकत्वमा आयोगका सदस्यहरू सम्मिलित समिति गठन गरिएको छ। बिहीबार बसेको आयोगको बैठकले समिति गठन गर्ने निर्णय गरेको र समितिले काम सुरु गरिसकेको उनले बताए।

छानबिन समितिले अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिकसँग पनि प्रमाण माग्ने भएको छ। समितिले अडियो, भिडियो तथा उपलब्ध अन्य कागजात उपलब्ध गराउन जनआस्थालाई अनुरोध गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए।

समितिले अनुसन्धान पूरा गरी आवश्यक रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगमा पेस गर्नेछ। त्यसपछि मात्रै सांसद सुनारमाथि उठेको विवादमा आरोपको तथ्यगत अवस्था र आवश्यक कारबाहीबारे निर्णय हुने रास्वपाले जनाएको छ।

हालसम्म भने सांसद सुनारले आरोप अस्वीकार गरेका छन् भने विवादित अडियोको वास्तविकता र स्रोतबारे रास्वपाको छानबिन जारी छ।