October 9, 2026, Friday
२०८३ आश्विन २३

बलायरद्वारा डोटी कांग्रेसको बीपी र सिद्धराज स्मृति भवन उद्घाटन

दिपायल । नेपाली कांग्रेस डोटीका दुई स्मृति भवन उद्घाटन गरिएका छन्। जिल्लाको सिलगढीमा रहेको बीपी स्मृति भवन र दिपायलमा नवनिर्मित सिद्धराज स्मृति भवनको शुक्रबार बिहान उद्घाटन गरिएको हो।

सिलगढीमा पार्टी कार्यालय सञ्चालन भइरहेको बीपी स्मृति भवनको उद्घाटन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले गरेका हुन्। उक्त भवन बलायर नेपाली कांग्रेस डोटीको जिल्ला सभापति रहेका बेला निर्माण गरिएको थियो।

त्यस्तै, दिपायलमा निर्माण गरिएको सिद्धराज स्मृति भवनको उद्घाटन प्रदेश सभापति बलायर र नेपाली कांग्रेस डोटीका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभापति बलायरले भवन निर्माणमा योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरे। पार्टीका स्मृति भवनले संगठनात्मक गतिविधि सञ्चालन गर्न तथा पार्टीका नेता–कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।