कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ७ बजे सुरु हुने भनिएको मतदान करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो। मतदानमार्फत महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गरिरहेका छन्।
मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार दिउँसो साढे १२ बजेसम्म कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा ६०६, लुम्बिनी प्रदेशबाट ३८९, गण्डकी प्रदेशबाट ३३०, बागमती प्रदेशबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ।
मतदानलाई व्यवस्थित बनाउन प्रतिनिधिहरूका लागि फरक–फरक स्थानमा मतदान केन्द्रको व्यवस्था गरिएको छ। खुलामञ्चमा छ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ।
त्यस्तै, बागमती प्रदेशबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा मतदान केन्द्र तोकिएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानबाट पार्टीको आगामी कार्यकालका लागि सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।



प्रतिकृया दिनुहोस्