October 9, 2026, Friday
२०८३ आश्विन २३

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साढे २ बजेसम्म ३ हजार ७५४ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन्।

नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २ः३० बजेसम्म ३ हजार ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ। कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये उक्त समयसम्म ३ हजार ७५४ जनाले मतदान गरेका हुन्।

निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ। प्राप्त विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३ जनाले मतदान गरेका छन्। त्यस्तै, मधेस प्रदेशमा १ हजार २३४ प्रतिनिधिमध्ये ५९० जनाले मताधिकार प्रयोग गरेका छन्।

सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका कुल २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेको विवरणमा उल्लेख छ।

मतदानको समय थपिएसँगै प्रतिनिधिहरूले साँझ ५ बजेसम्म मतदान गर्न पाउनेछन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित विभिन्न पदका उम्मेदवार प्रतिस्पर्धामा छन्।