October 9, 2026, Friday
२०८३ आश्विन २४

सुदूरपश्चिममा भारी वर्षा, चार प्रदेशका पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागकी मौसमविद् माधवी सिग्देलका अनुसार शुक्रबार देशका अधिकांश भूभागमा मौसम बदली रहेको छ। सुदूरपश्चिममा वर्षा भइरहेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सिग्देलका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य तराईका भूभागमा आंशिक बदलीसँगै हुस्सु लाग्ने क्रम जारी छ।

पछिल्लो २४ घण्टाको विवरणअनुसार सुदूरपश्चिमको दार्चुलास्थित धरमपानी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ६१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, पोखराको मालेपाटनस्थित केन्द्रमा ४८.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

यस अवधिमा बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा भएको विभागको तथ्याङ्क छ।

धेरै स्थानमा वर्षाको सम्भावना

विभागले आगामी २४ घण्टामा देशका धेरैजसो स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका ३० देखि ५० प्रतिशत स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका १० देखि ३० प्रतिशत स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, बागमती र गण्डकीका तराई क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने राति मौसम सफा रहने र बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको छ।

चार प्रदेशमा पहेँलो चेतावनी

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी जारी गरेको छ। अन्य भूभागमा हरियो सङ्केत दिइएको छ।

भारी वर्षा र अन्य स्थानमा मध्यम वर्षाको सम्भावनाले कृषि क्षेत्रमा असर पर्न सक्ने मौसमविद् सिग्देलले बताएकी छन्। उनले मौसमको अवस्थाबारे आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमित जानकारी लिन आग्रह गरेकी छन्।

वर्षाको सम्भावना रहेका क्षेत्रमा कृषि कार्य तथा दैनिक गतिविधि सञ्चालन गर्दा मौसमको पूर्वानुमानलाई ध्यान दिन र सम्बन्धित निकायबाट जारी हुने सूचनाबारे अद्यावधिक रहन आवश्यक रहेको विभागले जनाएको छ।