October 23, 2026, Friday
२०८३ कार्तिक ८

कैलालीमा वर्षाको असर : खेतमै काटेर राखिएको धान भिज्यो

धनगढी। कैलालीमा सोमबार राति भएको वर्षाले खेतमै काटेर राखिएको धानबालीमा क्षति पुगेको छ। पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित पश्चिम तराईका केही जिल्लामा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण खेतमा काटेर राखिएको धान भिजेको छ भने परालमा समेत क्षति पुगेको किसानले बताएका छन्। धान काटेर खेतमै सुकाउने क्रममा वर्षा भएपछि किसानलाई धान सुरक्षित गर्न समस्या भएको हो।

पश्चिम तराईमा अहिले धान भित्र्याउने मुख्य समय चलिरहेको छ। कैलालीमा पनि किसानहरू धान काट्ने र भित्र्याउने काममा व्यस्त छन्। तर, मौसमको पूर्वानुमानलाई बेवास्ता गरेर धान काट्दा वर्षाका कारण क्षति हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले बताए।

उनका अनुसार ज्ञान केन्द्रले वर्षाको सम्भावनाबारे किसानलाई सचेत गराउँदै आएको छ। काटिसकेको धान सुरक्षित स्थानमा नराख्दा वर्षाले क्षति पुर्‍याउने गरेको चौधरीले बताए।

‘काटिसकेको धान सुरक्षित स्थानमा राख्न र मौसमको पूर्वानुमान हेरेर मात्र धान काट्न किसानलाई आग्रह गर्दै आएका छौँ,’ उनले भने, ‘खेतमै धान राख्दा वर्षा भएपछि क्षति हुने गरेको छ।’

कृषि ज्ञान केन्द्रका अनुसार सोमबारसम्म कैलालीमा करिब १५ प्रतिशत धान काटिसकिएको अनुमान छ। जिल्लामा अझै ठूलो परिमाणमा धान काट्न बाँकी रहेकाले आगामी दिनमा पनि वर्षा भए थप क्षति हुन सक्ने जोखिम छ।

केन्द्रले किसानलाई मौसमको पूर्वानुमानअनुसार धान काट्ने तथा काटिसकेको धान तत्काल सुरक्षित र ओभानो स्थानमा भण्डारण गर्न आग्रह गरेको छ।